५ किलो लागुऔषध गाँजासहित १ जना पक्राउ
हेटौंडा- मकवानपुर प्रहरीले ५ किलो १० ग्राम लागुऔषध गाँजासहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा जिल्लाका जगरनाथपुर गाउँपालिका–४ हरपुर बस्ने वर्ष ३३ को राजकपुर महतो रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायवउपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।मनहरीबाट खटिएको प्रहरीटोलीले मनहरी गाउँपालिका–८ स्थित मनहरी खोलाबगरको कच्ची सडकखण्डमा शंकास्पदरुपमा हिँडिरहेको अवस्थामा महतोको साथबाट यो परिमाणाको गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।
महतोलाई खानतलासी गर्ने क्रममा निजले पछाडि भिर्ने झोलाभित्र लुकाईछिपाई ल्याएको अवस्थामा ५ किलो १० ग्राम औषध गाँजा फेला परेको र लागुऔषध गाँजा बरामद गरी निजलाई नियन्त्रणमा लिएको प्रहरी नायवउपरीक्षक अर्यालले जानकारी दिए । जिल्ला अदालत मकवानपुरबाट ५ दिन म्यादथप अनुमति लिई अनुसन्धानकार्य भइरहेको प्रहरीले जनाएको छ ।







