युवालक्षित विभिन्न ६ प्रकारका सीपमूलक तालिम सुरु
हेटौंडा- बागमती प्रदेश युवा परिषद्ले युवालक्षित विभिन्न ६ प्रकारका सीपमूलक तालिम दिन सुरु गरेको छ । युवा जनशक्तिलाई सीपविकास मार्फत् दक्ष बनाउने उद्देश्यले परिषद्ले तालिम दिन सुरु गरेको हो । हेटौंडामा शुक्रबारबाट सुरु भएको तालिमको प्रदेश युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जनले उद्घाटन गरेका हुन् । युवा सीपवर्ष अन्तर्गत सञ्चालित तालिमको उद्घाटन समारोहलाई सम्बोधनगर्दै मन्त्री महर्जनले युवाशक्तिलाई देशमै स्वरोजगार बनाउन बागमती प्रदेश सरकारले यस्ता तालिमको आयोजना गरेको बताए ।
नेपालका सातै प्रदेशमध्ये बागमती प्रदेशले मात्रै युवालक्षित कार्यक्रम ल्याएको उनको दाबी छ । ‘विदेशिंदै गरेको युवा जनशक्तिलाई सक्षम बनाउन यस्ता तालिमले मद्दत पुग्ने’ उनले बताए । खेलकुद क्षेत्रलाई चलायमान बनाउन यसभन्दा अगाडिको सरकारले आवश्यक बजेट विनियोजन नगरेको भन्दै मन्त्री महर्जनले गुनासो गरे ।
प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौंलागाईले सीपवर्षमा ७÷८ हजार युवा जनशक्तिलाई स्वरोजगारमूलक तालिम प्रदान गरी सीपयुक्त युवा उत्पादन गर्ने लक्ष्य रहेको बताए । सूचना र समन्वयको अभावले युवा र सरकारबीच दूरी बढ्दै गएको उनको भनाई छ ।
३९० घण्टे र १६० घण्टे निःशुल्क तालिम अन्तर्गत बिल्डिङ ईलेक्ट्रिसियनमा २० जना, कुक तालिममा ४० जना, मन्टेश्वरीमा ८० जना सहभागी रहेका छन् । यस्तै, बारिष्ठा अर्थात् कफि बनाउने तालिममा ६५ जना, ब्यूटीसियनमा ८० जना र वेटर विधामा २० युवा सहभागी रहेको प्रदेश युवा परिषद्ले जनाएको छ ।
तालिम उद्घाटन कार्यक्रममा पूर्वमन्त्री एवम् प्रदेशसभा सदस्य एकालाल श्रेष्ठ, हेटौडा उपमहानगरपालिका–४ का अध्यक्ष नबीन सिग्देल, नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारुमगर, जिल्ला अध्यक्ष बालकृष्ण अधिकारी, मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष उज्जल चौलागाईं, गैसस महासंघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटालगायतले मन्तव्य राखेका थिए ।







