झरनाले सञ्चारकर्मी न्यौपाने सहित ११ जनालाई सम्मान गर्ने
हेटौंडा- झरना साहित्यिक परिवार मकवानपुरले मकवानपुरका एक सञ्चारकर्मी सहित साहित्य तथा कलाक्षेत्रमा योगदान पु¥याएका ११ जना व्यक्तित्वलाई एकै मञ्चमा नगदसहित सम्मान गर्ने भएको छ । ३ सय १३ औं साहित्य शृंखला एवम् ३२ औं वार्षिकउत्सवका अवसरमा फागुन १६ र १७ गते आयोजना हुने बकैया–कला साहित्य महोत्सव–२०८१ मा विविधविधाका पुरस्कार तथा सम्मान प्रदान गरिने शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
नगद २१ हजार १ सय २१ राशिको होमनाथ–टीकामाया प्रतिभा सम्मान–२०८१ भैरहवाबाट नेपाली साहित्यिक क्षेत्रमा योगदान पु¥याएका साहित्यकार प्राध्यापक डाक्टर कपिलप्रसाद लामिछानेलाई प्रदान गरिने झरना साहित्यिक परिवारका सचिव मसान उपासकले जानकारी दिएका छन् । जिल्लामा साहित्यिक संस्था स्थापना र जगेर्ना गर्न योगदान गरेबापत नगद १५ हजार ५ सय ५५ राशिसहितको बाबुलाल–भोजमाया स्मृति साहित्य सम्मान–२०८१ मुक्तककार देवराज खरेललाई प्रदान गरिने झरना साहित्यिक परिवारले जनाएको छ ।
यस्तै, मुक्तकमा योगदान गरेवापत इलामका शिव अधिकारीलाई नगद १५ हजार ५ सय ५५ राशि सहितको शिव–सावित्री अधिकारी स्मृति मुक्तक सम्मान प्रदान गर्ने झरनाले निर्णय गरेको छ । यो सम्मान चैतको चौथो शनिबार हेटौंडामा हुने टिकटमा मुक्तक साँझमा सर्मपण गरिनेछ । ८ हजार ५ सय राशि सहितको खडानन्द–मनमाया प्रतिभा सम्मान–२०८१ थाहानगरका बिर्खे अञ्जानलाई प्रदान गरिने भएको छ ।
यस्तै, सिर्जनशील नारी सम्मान–२०८१ गजलकार बबी थापालाई, सञ्जीवनि बुटि साहित्य सम्मान–२०८१ बाराका नियात्राकार अप्सरा पुडासैनीलाई, बकैयामा रहेका कलाका क्षेत्रमा योगदान गरेवापत नवप्रतिभा पुरस्कार सन्तोष विकलाई, खिमबहादुर खत्री स्मृति कलाकारिता सम्मान–२०८१ मुर्तिकार ओमभक्त भण्डारीलाई र छन्द कवितामा उल्लेख्य योगदान गरेवापत ऋषेश्वर–रुक्मिणी–लक्ष्मीदेवि खनाल साहित्य सम्मान–२०८१ ललितपुरका रत्नविरही घिमिरेलाई प्रदान गरिने भएको छ । यी सबै पुरस्कार राशी ७ हजार ७ सय ७७ रुपैयाँ रहेको छ ।
पत्रकारिताका माध्यमबाट झरनाको प्रचारप्रसार गर्न सहयोग गरेको भन्दै नगद ११ हजार १ सय ११ राशीको गोकर्ण गौतम स्मृति पत्रकारिता सम्मान पत्रकार ज्योति न्यौपानेलाई दिइने भएको छ । बकैया गाउँपालिकाभरका विद्यालयमध्ये उत्कृष्ट शिक्षकका रुपमा बुद्ध माविका हरि घिमिरलाई ५ हजार ५ सय ५५ रुपैयाँ राशीको झरना–बकैया नवप्रतिभा सम्मान प्रदान गरिने सचिव उपासकले बताए महोत्सवमा पुरस्कार समर्पणका साथै चित्रकला प्रदर्शनी, पत्रिका विमोचन, विभिन्न जातजातिका नृत्य, बकैयाको काव्यमहक, समकालीन गजल, मुक्तक उत्सव लगायत विविध कार्यक्रम हुने बताइएको छ ।







