हेटौंडा–फाखेल–फर्पिङ सडक २० दिन एकतर्फी हुने
हेटौंडा- हेटौंडा र काठमाडौं जोड्ने छोटो दूरीको सडक हेटौंडा–फाखेल–फर्पिङ सडक स्तरोन्नतिका क्रममा शनिबारबाट २० दिनको लागि एकतर्फी गरिएको छ ।हेटौंडा–फाखेल–हुमाने भञ्ज्याङ आयोजनाको मकवानपुर जिल्ला अन्तर्गत इन्द्रसरोवर गाउँपालिकाको कलंकीदेखि महालक्ष्मी खोलासम्म सडक ढलानका क्रममा यो सडक खण्डमा सवारीसाधनको आवागमन एकतर्फी गरिएको प्रदेश पूर्वाधार विकास कार्यालय, मकवानपुरले जनाएको छ । सडक ढलानका क्रममा सवारीसाधनको अत्यधिक चापका कारण निर्माणकार्य सहजरुपमा हुन नसकेका कारण एकतर्फी सञ्चालन गर्ने निर्णय गरिएको कार्यालयप्रमुख सुजन भण्डारीले जानकारी दिए ।
हेटौंडा–फाखेल–हुमाने सडकबाट हेटौंडा–काठमाडौं जाने गरी एकतर्फी चलाउनुपर्ने भएकाले आवश्यक समन्वय गरिदिन काठमाडौं र मकवानपुरको जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरिएको उनले बताए । साथै यो क्षेत्र हुँदै हेटौंडा–काठमाडौं यात्रा गर्न हेभी–सिस्नेरी–दक्षिणकाली वैकल्पिक सडक उपलब्ध रहेको उनले बताए । यस्तै, महालक्ष्मी–चखेल–मातातीर्थ मार्ग स्तरोन्नतिका क्रममा गत आइतबारबाट डेढ महिनाका लागि बन्द गरिएको छ ।
मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–५ को वडाकार्यालयले आगामी चैतको २१ गतेसम्म यो सडक हुँदै सवारीसाधनको आवागमन बन्द रहने जनाएको छ । ईन्द्रसरोवर गाउँपालिका–५ को महालक्ष्मी दोभान–घट्टेखोला–चखेल हुँदै मातातीर्थ जोड्ने सडकअन्तर्गतको देउराली–मातातीर्थ खण्डको सडकको मोडहरुमा सडक ढलानको काम गर्नुपर्ने भएकाले यो सडक बन्द गरिएको ईन्द्रसरोवर गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष दुतराज तितुङले जानकारी दिएका छन् ।
यो सडक भएर चल्ने सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गर्दै उनले महालक्ष्मी दोभान–घट्टेखोला–चखेल हुँदै मातातीर्थ जोड्ने सडकको मकवानपुरतर्फ पनि सडक स्तरोन्नतिको कार्य भइरहेको बताए । यस्तै हेटौंडा–काठमाडौं जोड्ने छोटो दूरीको मार्ग कुलेखानी–फाखेल–फर्पिङ सडकको मकवानपुर र काठमाडौंतर्फको भागमा पनि बागमती प्रदेश सरकारको लगानीमा सडक कालोपत्रेलगायत स्तरोन्नतिको कार्य भइरहेको छ ।







