फास्ट ट्रयाकको काम २०८३ चैतभित्र सकिने नेपाली सेनाको दाबी
हेटौंडा-तराई मधेश–काठमाडौं द्रुतमार्ग (फास्ट ट्रयाक) को काम २०८३ चैतभित्रै सक्ने लक्ष्यका साथ काम भइरहेको नेपाली सेनाले दाबी गरेको छ ।सेनाले द्रुतमार्ग निर्माणको कामलाई विशेष प्राथमिकतामा राखेर तदारुकताका साथ भइरहेको बताएको हो । सेनाको युद्धकार्य विभागका निर्देशक सहायकरथी रवीन्द्र खत्रीका अनुसार, हालसम्म द्रुतमार्गमा भौतिक प्रगति ३८ दशमलव २६ प्रतिशत भएको छ । सेनाले २०७४ वैशाख २१ मा फास्ट ट्रयाक निर्माण व्यवस्थापनको जिम्मा पाएको थियो । त्यसबेला २०८१ साउन ३० गतेभित्र निर्माण सम्पन्न गर्ने गरी सेनालाई जिम्मा दिइएपनि अहिले यो अवधि बढाएर २०८३ को चैत मसान्तसम्म सारिएको छ ।
तर, अहिलेको वित्तीय प्रगतिअनुसार, सेनाको लक्ष्य पूरा हुन चुनौती देखिन्छ । फास्ट ट्रयाक आयोजनाका प्रमुख उपरथी कमलविक्रम शाहले भने आयोजनाको सुरुवातमा जटिल कामहरु भइरहेकाले प्रतिशतमा बढी नदेखिएको बताए ।‘काम हुँदैगर्दा पछि प्रतिशत पनि ह्वात्तै बढेर जान्छ, हामीले तोकिएकै समयमा कार्य सम्पन्न गर्ने गरी काम गरिरहेका छौं’, उनले थपे, ‘२०७४ वैशाखमा हामीलाई यो हस्तान्तरण भएपनि खास काम अन्तर्राष्ट्रिय परामर्शदाता नियुक्त गरेर २०७८ देखि मात्र सुरु भएकाले यसमा ढिलाइ भएको हो ।’
उनले यो आयोजनालाई चाँडै प्रगति हाँसिल गर्न सेनाले दिनरात लगाएर प्रयास गरिरहेको दाबी गरेका छन् ।प्रस्थानबिन्दु खोकना र अन्तिमबिन्दु निजगढ रहेको यस काठमाडौं–तराई÷मधेस द्रुतमार्ग सडक आयोजनाको कुल लम्बाइ ७० दशमलब ९७७ किलोमिटर रहेको छ । काठमाडौं–निजगढ द्रुतमार्ग मुलुकको उच्चप्राथमिकतामा परेको राष्ट्रिय गौरवको आयोजना हो ।







