प्रदेश विश्वविद्यालय डीन नियुक्तिका लागि दरखास्त आह्वान
हेटौंडा- बागमती प्रदेश विश्वविद्यालयको डीन नियुक्तिका लागि दरखास्त आह्वान भएको छ । डीन सिफारिस समितिले आइतबार सार्वजनिक सूचना प्रकाशन गर्दै १५ दिनभित्र आवेदन पेस गर्न सकिने उल्लेख गरेको छ । इन्जिनियरिङ वा व्यवस्थापन विधाका योग्य उम्मेदवारले विश्वविद्यालय संरक्षक समिति (बोर्ड अफ ट्रस्टी) को सचिवालय हेटौंडामा आवश्यक कागजातसहित निवेदन पेस गर्न सक्ने सूचनामा उल्लेख छ । प्रदेश उच्चशिक्षा ऐन, २०७८ तथा नियमावली, २०७९ संशोधनसहित प्रदेश विश्वविद्यालयको विधान २०८१ र बागमती प्रदेश विश्वविद्यालयको डीन सिफारिससम्बन्धी मापदण्ड २०८१ बागमती प्रदेश विशवविद्यालयको बेवसाइट वा सामाजिक विकास मन्त्रालय बागमती प्रदेशको वेबसाइटबाट डाउनलोड गर्न सकिने सूचनामा उल्लेख छ ।
विश्वविद्यालयको अवधारणा सहितको व्यावसायिक कार्ययोजना (बढीमा ३,००० शब्दसम्म) र ५६ वर्ष ननाघेको व्यक्तिले आवेदन दिन सकिने छ ।मान्यता प्राप्त विश्व विद्यालयबाट विद्यावारिधि गरेको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि र सोभन्दा माथिको शैक्षिक योग्यता भएमा सो बमोजिमका प्रमाणपत्रको प्रमाणित प्रतिलिपि सहित आवेदन दिनुपर्ने उल्लेख गरिएको छ ।साथै उच्चशिक्षा प्रदायक संस्थामा काम गर्दा वा नेतृत्व तहमा वा व्यवस्थापन तहमा गरेको कार्य अनुभव र उपलब्धि स्पष्ट खुल्ने प्रमाणित विवरण पनि पेश गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।







