हेटौंडा उपमहानगरपालिकामा मेगा किचेन सञ्चालन हुने
हेटौंडा-हेटौंडा उपमहानगरपालिकामा मेगा किचेन सञ्चालन हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हेटौंडा उपमहानगरपालिका सहित ७ प्रदेशको ७ वटा पालिकामा मेगा किचेन सञ्चालन गर्न लागेको हो । शिक्षा तथा मानवस्रोत विकास केन्द्रका अनुसार हेटौंडासहित मोरङको विराटनगर महानगरपालिका, धनुषाको जनकपुर उपमहानगरपालिका, कास्कीको पोखरा महानगरपालिका, दाङको घोराही उपमहानगरपालिका, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका र कैलालीको धनगढी उपमहानगरपालिकामा मेगा किचेन सञ्चालन हुनेछ । मेगा किचेन स्थापना र सञ्चालनसम्बन्धी कार्यक्रम कार्यान्वयन गर्न स्थानीय तहलाई ५० लाखको दरले बजेट तथा कार्यक्रम पठाइएको मन्त्रालयले जनाएको छ ।
मेगा किचेन स्थापना कार्यसञ्चालन संहिता, २०८१ अनुसार गर्न केन्द्रले निर्देशन दिएको छ । मेगा किचेन भनेको स्थानीय तहभित्रका विद्यालयका विद्यार्थीलाई एकीकृत गरी खाजा खुवाउने कार्यक्रम हो । कक्षा पाँचसम्मका विद्यार्थीलाई उपलब्ध गराउने दिवाखाजालाई व्यवस्थित गर्न सरकारले मेगा किचनको अवधारणा लागू गरेको हो । दिवा खाजा कार्यक्रमलाई अझ प्रभावकारी बनाउन भन्दै सरकारले चालु वर्षको बजेटमार्फत् नै मेगा किचनको अवधारणा अघि सारेको हो ।
प्रारम्भिक बालविकास देखि कक्षा पाँचसम्मको बालबालिकालाई दिवाखाजाका लागि आठ अर्ब ३९ करोड बजेट विनियोजन गरिएको छ । मेगा किचनको लागि ८९ करोड बजेट विनियोजन गरिएको मन्त्रालयले जनाएको छ । दिवाखाजामा स्थानीय उत्पादनलाई नै उच्च प्राथमिकतामा राख्न पनि सरकारले निर्देशन दिएको छ ।







