कांग्रेस र एमाले इमानदार हुँदासम्म सरकार ढल्दैनः पोखरेल
हेटौंडा- नेकपा एमालेका वरिष्ठउपाध्यक्ष ईश्वर पोखरेलले आगामी चुनावमा नेपाली कांग्रेसबाट मुलुकको समस्या समाधान हुन नसक्ने बताएका छन् ।सोमबार एमाले जिल्ला कमिटी मकवानपुरको बैठकमा सम्बोधन गर्दै वरिष्ठउपाध्यक्ष पोखरेलले २०८४ को चुनावमा प्रतिस्पर्धा गर्दैगर्दा कांग्रेसबाट मुलुकमा देखिएको संकटको समाधान हुन नसक्ने बताएका हुन् । राष्ट्रमा देखिएको संकट समाधानको लागि पनि एमालेले आगामी चुनावमा बहुमत ल्याउनुपर्ने उनको भनाई छ । एमालेले बहुमत ल्याउन नसक्दा मुलुक फेरि पनि राजनीतिक अस्थिरताको भुमरीमा फस्ने उनले उल्लेख गरेका छन् ।
‘कुन बेला कसको सरकार बन्ने र ढल्ने ठेगान हुँदैन, जनताले सेवा प्राप्त गर्न सक्दैन, यो दुर्भाग्यबाट बचाउन पनि एमालेले बहुमत ल्याउन जरुरी छ’ उनले भने । वरिष्ठ उपाध्यक्ष पोखरेलले एमालेलाई देशको निर्णायक राष्ट्रिय शक्ति बनाउनुपर्नेमा जोड दिए । उनले लोकतन्त्रलाई सबल बनाउन पनि एमाले बलियो हुनुपर्ने बताए । एमालेको नेतृत्वलाई बदनाम गराउन विभिन्न तत्वहरु क्रियाशील हुँदा कार्यकर्तापंक्ती चुप लागेर बस्न नमिल्ने उनको भनाई छ । वरिष्ठ उपाध्यक्ष पोखरेलले वडा तहबाटै एमालेलाई बलियो बनाउनुपर्ने धारणा व्यक्त गरे ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले वर्तमान सरकार कसैले पनि ढाल्न नसक्ने बताएका छन् । कांग्रेस र एमालेमा बेईमानी पलाए मात्र सरकार ढल्ने उनको भनाई छ । दुबै दल इमानदार हँुदासम्म ओली नेतृत्वको सरकार नढल्ने उनले दाबी गरे । वरिष्ठ उपाध्यक्ष पोखरेलले राजनीतिक स्थायित्वको लागि वर्तमान सत्तासमीकरण निर्माण भएको स्पष्ट पारे ।२०७९ को निर्वाचनपछि राजनीतिक अस्थिरतको बिगबिगी चलिरहेको समयमा दुबै दलले आपसमा सहकार्य गरेको उनले उल्लेख गरेका छन् ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले माओवादी केन्द्रतर्फ संकेत गर्दै कांग्रेस म्याजिकल नम्बरको चक्करमा फस्दा २०७९ को निर्र्वाचन पछि राष्ट्रिय सहमतिको सरकार बन्न नसकेको बताएका छन् । कांग्रेससँग मिल्दै गर्दा आगामी चुनावीमा कांग्रेस नै मुख्य प्रतिस्पर्धी दल हो भन्ने कुरालाई नभुल्न पनि उनले कार्यकर्तालाई आग्रह गरे । जनताको मन जितेमात्र मत प्राप्त गर्न सकिने भएकोले जनचाहना बुझेर काम गर्न पोखरेल कार्यकर्तालाई निर्देशन दिएका छन् ।
नेकपा एसका २ दर्जन नेता कार्यकर्ता एमालेमा फर्किएनेकपा (एकीकृत समाजवादी) बागमती प्रदेश कमिटीका पूर्वसदस्य शिवहरि बर्तौलासहित करिब दुई दर्जन नेता कार्यकता नेकपा(एमाले)मा फर्किएका छन् । सोमबार एमाले मकवानपुरको पूर्णबैठकमा उनीहरु एमालेमा प्रवेश गरेका हुन् । उनीहरुलाई एमाले वरिष्ठ उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेल, एमाले स्थायी कमिटी सदस्य तथा बागमती ईन्चार्ज डा.राजन भट्टराई, एमाले केन्द्रीय सदस्य तथा मकवापुर ईन्चार्ज रामेश्वर रानालगायत नेताहरुले पार्टीमा स्वागत गरे ।
बर्तौलासहित समाजवादी मकवानपुरका जिल्ला कमिटी सदस्य मानबहादुर बल, पूर्वजिल्ला कमिटी सदस्य कर्णबहादुर पाख्रिन, देवलाल गोले, सुनिलकुमार गोले, लोकबहादुर घिसिङ एमालेमा प्रवेश गरेका हुन् । समाजवादी भीमफेदी गाउँपालिका कमिटीका सचिवालय सदस्य रवि खड्का, पालिका कमिटी सदस्य वीरबहादुर बल, शेरमान थापा, हेटौंडा–१ उपसचिव भुपाल थिङलगायत दुई दर्जन नेता कार्यकर्ता एमालेमा फर्किएको कार्यक्रमको सहजीकरण गरेका एमाले मकवानपुरका उपाध्यक्ष हिदम लामाले जानकारी दिएका छन् ।
एमालेमा फर्किएका बर्तौलाले समाजवादी पार्टीबाट देश नबन्ने निष्कर्षसहित एमालेमा समाहित भएको बताए । उनले समाजवादीमा रहेकाहरुलाई एमालेमा फर्कन र पार्टी काम लाग्न आग्रह गर्दै एमालेको मिसन ८४ मा कटिवद्ध भएर लाग्ने प्रतिवद्धता व्यक्त गरे ।पार्टी प्रवेश कार्यक्रमलाई सहजीकरण गरेका उपाध्यक्ष लामाले पार्टीको तीन महिने वडा केन्द्रीत जरा अभियान अन्तर्गत पार्टी प्रवेश कार्यक्रम भएको बताए । सोमबारबाट सुरु भएको दुईदिने जिल्ला कमिटी बैठकमा सबै स्थानीय तह कमिटीको रिर्पोटिङ लिने र अभियानलाई अझ बृहत ढंगले अगाडि बढाउने बारेमा छलफल हुने बताइएको छ ।







