कैलाश गाँउपालिकाको लगानीमा निर्मित जीपलाइनको परीक्षण
हेटौंडा- मकवानपुरको कैलाश गाउँपालिका–२ बैकुण्ठमा नवनिर्मित कैलाश–बैकुण्ठ जीपलाइनको पहिलोचरणको परीक्षण भएको छ । जीपलाइनका प्राविधिक टोली सहित गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तान, वडा नम्बर २ का वडाअध्यक्ष राजेन्द्र घिसिङ, योजना शाखाप्रमुख नरेन्द्रदत्त भट्ट, ईन्जिनियर अनिल जोशीलगायतको टोलीले पहिलोचरणको परीक्षण गरेका हुन् । सञ्चालनको अन्तिम तयारीमा रहेको जीपलाइन कैलाश गाउँपालिकाको बजेटबाट निर्माण गरिएको हो । मुलतः यो स्थानीय तहकै लगानीमा बनेको नेपालकै पहिलो जीपलाइन हो ।
स्थानीय सरकार सञ्चालन ऐनको एकलअधिकारभित्र नपरेको अवस्थामा गाउँपालिका राष्ट्रिय महासंघका कार्य सम्पादन समितिका सदस्य रहेका कैलाश गाउँपालिका अध्यक्ष मुक्तानले पर्यटन पर्यावरणको प्रवद्र्धनमा यस खालका विकास स्थानीय तहको एकलअधिकारभित्र हुनुपर्छ भन्ने प्रस्ताव राखेका थिए । सोहीअनुरुप संघीय सरकार पनि सकरात्मक भएपछि जीपलाइनको निर्माण कार्य सुरु गरिएको उनले बताएका छन् ।
कैलाश र बैकुण्ठका दुई पहाडलाई जोड्दै एक हजार दुई सय मिटर लामो जीपलाइन निर्माण गरिएको अध्यक्ष मुक्तानले बताए । पर्यटन, पर्यावरणको विकासमा कैलाश गाउँपालिका पछि नहटेको बताउँदै उनले जीपलाइन सञ्चालन पछि धादिङ जिल्लाको रोराङ बेनीघाट र गजुरी गाउँपालिका, मकवानपुरका थाहानगर, राक्सिराङ र मनहरी गाउँपालिकाका जीपलाइन पारखीको गन्तव्यस्थल बन्ने उल्लेख गरे ।धादिङसँग सीमाना जोडिएकाले जीपलाइनस्थल पुग्न बेनीघाट, थाहानगर र मनहरी बजार तीनैक्षेत्रबाट करिब ३३ किलोमिटर सडक सञ्जाल रहेको उनले बताएका छन् ।
बैकुण्ठमा जीपलाइनसँगै विभिन्न पर्यटकीय पार्कहरु समेत निर्माण भइसकेका छन् । जीपलाइनका लागि फोरजी कम्पनीले आर्थिक वर्ष २०७९÷८० मा एक करोड ९० लाख ९७ हजार खर्च लाग्ने सर्वेक्षण गरी गाउँपालिकामा प्रतिवेदन बुझाएको गाउँपालिका योजना शाखाप्रमुख भट्टले बताए । पालिकाले बहुवर्षीय योजना बनाई दुई स्थानमा स्टेशन, ब्रेकिङ सिस्टम (हारनेस) र तार निर्माण गरिएको उनले जानकारी दिएका छन् ।
२०८० माघमा ठेक्का प्रकाशित भएसँगै सन्ध्या निर्माण सेवासँग ८८ लाख ५६ हजार ७ सात६१ रुपैयाँमा ०८१ फागुन मसान्तसम्ममा सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको शाखाप्रमुख भट्टले बताए । जीपलाइनको अघिल्लो आर्थिक वर्षमा ४८ प्रतिशत काम सम्पन्न भएको थियो भने बाकीँ अहिले सम्झौता अनुरुप काम सम्पन्न गरी जीपलाइन सञ्चालनको अन्तिम तयारीमा रहेका उनको भनाई छ । पहिलोचरणमा ब्रेकिङ सिस्टम(सोलोप) सम्बन्धी कार्यको परीक्षण भयो भने दोस्रोचरणको परीक्षण पछि सफल परीक्षण गरिने उनले बताए ।







