एकै मञ्चमा ११ जना स्रष्टा सम्मानित
हेटौंडा- मकवानपुरको अग्रणी साहित्यिक संस्था भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठानले एकै मञ्चमा ११ जना सर्जक, स्रष्टा एवम् व्यक्तित्वलाई सम्मान गरेको छ । प्रतिष्ठानले विशेष साँगीतिक तथा पुरस्कार समर्पण समारोहको आयोजना गर्दै ४ जनालाई राष्ट्रिय पुरस्कार र अन्य ७ जनालाई विभिन्न विधामा पुरस्कार तथा सम्मान प्रदान गरेको हो । हेटौंडा उपमहानगप्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा पुरस्कार समर्पण गरिएको थियो । यसवर्षको भीम विराग राष्ट्रिय साहित्य पुरस्कार काठमाडौंकी साहित्यकार माया ठकुरीलाई प्रदान गरिएको छ ।
यस्तै, राष्ट्रिय संगीत पुरस्कार रुपन्देहीका गायक हेमन्त शर्मा, राष्ट्रिय कला पुरस्कार मकवानपुरका कलाकार भोलाराज सापकोटा रराष्ट्रिय पत्रकारिता पुरस्कार काठमाडौंका पत्रकार ठाकुर बेल्वासेलाई प्रदान गरिएको छ । यी सबै पुरस्कारको राशि जनही २५ हजार रुपैयाँ रहेको छ । २० हजार रुपैयाँ राशिको रामकृष्ण बानियाँ स्मृति लोकसंगीत पुरस्कार पर्वतका लोकदोहोरी गायक कुलेन्द्र विश्वकर्मालाई प्रदान गरिएको छ । १५ हजार रुपैयाँ राशिको तुलसीमाया–शिवकुमारी सिर्जनशील नारी पुरस्कार मकवानपुरकी महिलाउद्यमी शोभा श्रेष्ठ र शिलानारी पुरस्कार मकवानपुरकै महिलाउद्यमी मेनका श्रेष्ठलाई प्रदान गरिएको छ ।
१५ हजार रुपैयाँ राशिको चिनुकुमारी लामा स्मृति साहित्यपुरस्कारबाट मकवानपुरका बालसाहित्य अभियानकर्मी दीपक गौतमलाई प्रदान गरिएको छ । भीम–मथुरा बालप्रतिभा पुरस्कार मकवानपुरकी रितिका छत्कुलीलाई प्रदान गरिएको छ । यो पुरस्कारको राशि नगद १० हजार रुपैयाँ रहेको छ । १० हजार रुपैयाँ राशिको मंगलादेवी स्मृति स्वास्थ्य सेवापुरस्कारबाट मकवानपुरकी स्वास्थ्यकर्मी निर्मला ब्लोन र अजित सेन–कमलेश्वर गुप्ता भिन्न क्षमता पुरस्कार मकवानपुरका दृष्टिविहिन मेकानिक सुदर्शन ढकाललाई प्रदान गरिएको छ ।वरिष्ठ कलासाधक भीम विराग सक्रिय रहनुभएको साहित्य, संगीत, कला र पत्रकारिता चारवटै क्षेत्रलाई समेटेर हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा स्रष्टालाई पुरस्कार सर्मपण गरिएको हो ।







