सार्वभौम सत्ताको रक्षामा सेनाको योगदान महत्वपूर्णः प्रदेश प्रमुख देवकोटा

साझाकुरा
२०८१ फाल्गुन १८, आईतवार १२:११

हेटौंडा- बागमती प्रदेशको प्रदेशप्रमुख दीपकप्रसाद देवकोटाले देशको सार्वभौमसत्ता र अखण्डताको रक्षामा नेपाली सेनाको महत्वपूर्ण योगदान रहेको बताएका छन् ।विपद् व्यवस्थापन, शान्ति स्थापना र राष्ट्रिय विकासमा सेनाले विगतदेखि नै योगदान दिंदै आएको उनको भनाई छ । महाशिवरात्रि तथा २६२ औं नेपाली सेना दिवशको उपलक्ष्यमा आयोजित विविध सैनिक प्रदर्शनी (वाकथुन तथा एडभेन्चर च्यालेन्ज) प्रतियोगिता २०८१ मा प्रदेशप्रमुख देवकोटाले गौरवशाली इतिहास बोकेको नेपाली सेनाले राष्ट्रलाई पर्न आउने बिभिन्न विपत्तिमा जनताको जनधनको क्षति हुनबाट बचाउन सहयोग गर्दै आइरहेको जिकिर गरे ।

जनतालाई नै केन्द्रबिन्दुमा राखेर राष्ट्रका हरेक कुनाकाप्चामा जनहीतका कार्यहरु गर्दै, आफ्नो ज्यानको पर्वाह नगरी जनरक्षाको लागि नेपाली सेना निरन्तर लागिरहेकोले सेनाको योगदानको उच्चकदर गर्नुपर्ने उनले बताएका छन् । प्रदेशप्रमुख देवकोटाले प्रदेशस्तरमा आयोजना गरिएको वाकथुन तथा (एडभेन्चर च्यालेन्ज) प्रतियोगिता २०८१ कार्यक्रमले नेपाली सेनाप्रति रहेको जनताको अपनत्वमा अझ वृद्धि भएको बताए ।

‘आजको (एडभेन्चर च्यालेन्ज) प्रतियोगिताले युवा तथा विद्यार्थी भाइबहिनीका बाधा कठिनाईलाई हौसला, जोश, जाँगर र मानसिक तथा शारीरिक तन्दुरुस्तीले पार गर्न सकिन्छ भन्ने शिक्षा दिएको अनुभूति गरेको छु’ उनले भने । नेपाली सेनासम्बन्धी जानकारी दिने उद्देश्यले तयार गरिएका स्टलले यसक्षेत्रमा रहेका जनता त्यसमा पनि विशेष गरी विद्यार्थीलाई नेपाली सेनासम्बन्धी ज्ञानहासिल गर्न सहज भएको महशुस गरेको उनले बताए ।

कार्यक्रममा प्रदेश सरकारका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवाल, मध्यपृतना मुख्यालयका पृतनापति हरेन्द्र पाठक, प्रदेश सरकारका प्रमुखसचिव एवम्, प्रदेशस्तरीय सुरक्षा निकायका प्रमुख तथा वाहिनीपति, प्रदेश तथा मकवानपुर जिल्लाका विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*