कुलेखानी–सिस्नेरी सडक २ प्याकेजमा ठेक्का आह्वान

साझाकुरा
२०८१ फाल्गुन १९, सोमबार ११:४५

हेटौंडा-बाढीबाट क्षति भएको हेटौंडा–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौं सडक मर्मत गर्न २ प्याकेजमा ठेक्का आह्वान गरिएको छ । कुलेखानी–सिस्नेरी खण्डको १२ सय मिटर सडक पुनर्निर्माणका लागि बागमती सरकारको पूर्वाधार विकास विशेष आयोजना हेटौंडाले ठेक्का आह्वान गरेको हो । ईन्द्रसरोवर–३ एकान्तकुना लामाबगरमा ७०० मिटर र ईन्द्रसरोवर–२ डोडारेमा ५०० मिटर सडक पुनर्निर्माण गर्न आयोजनाले साढे ८ करोड रुपैयाँ लागत अनुमानसहित ठेक्का सार्वजनिक गरेको छ ।

प्रदेश सरकारले वर्षायाम अगाडि नै काम गर्ने गरी ठेक्का आह्वान गरेको बताएको छ । हेवी–ज्यामिरे खण्ड अन्तर्गत ७०० मिटर र सिस्नेरी बजार खण्डमा ५०० मिटर सडक निर्माणका लागि ठेक्का खोली प्रक्रियामा रहेको आयोजनाका सूचना अधिकारी राजन गौतमले जानकारी दिए । सिस्नेरी खण्डको ५०० मिटर सडकका लागि ठेक्का बिड गरी निर्माण कम्पनी छनोट प्रक्रिया सम्पन्न भई सम्झौताको
चरणमा रहेको उनले बताए ।

५०० मिटर सडक निर्माणका लागि स्थानीय वइसिस पशुपत्रा जेभीले ९७ लाख रुपैयाँ बोलकबोल गरी आशयको सूचना प्रकाशन भइसकेको उनले बताए । निर्माण व्यवसायीले १ करोड ५७ लाख रुपैयाँ लागत निर्धारण गरिएको ठेक्कामा ४६ प्रतिशत कम विड गरेर कबोल गरेको उनको बताए । गत बुधबार आशयको सूचना जारी भएको र आगामी साता सम्झौता गरी काम थालिने उनले बताए ।त्यस्तै हेवी–ज्यामिरे खण्डको सडक पुनः निर्माणका लागि ८ करोड रुपैयाँ लागत मूल्य निर्धारण गरी ठेक्का आह्वान गरेको सूचना अधिकारी गौतमले बताए । यो सडक निर्माणका लागि प्राविधिक तथा आर्थिक पक्षको मूल्यांकन सहित ५ निर्माण कम्पनी छनोट सम्पन्न भइसकेको उनले जानकारी दिए ।

७०० मिटरको सडक निर्माणका लागि छिट्टै नै विडिङ प्रतिस्पर्धा अनुसार कम्पनी छनोट गरेर आशयको सूचना प्रकाशन गर्ने कार्यालयको तयारी रहेको उनको भनाई छ । ५ कम्पनीमध्ये कम बोलकबोल गर्ने निर्माण कम्पनीसँग सम्झौता गरी काम थालिने उनले बताए । सिस्नेरी खण्डमा जाली लगाउने र ग्राभेल गर्ने काम हुनेछ भने हेवी–ज्यामिरे खण्डमा सडकको ट्रयाक निर्माण गरी जाली लगाउने, ग्राभेल गर्ने काम हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*