शंखधर शाख्वा पार्क तथा पूर्वाधार निर्माणको शिलान्यास
हेटौंडा-हेटौंडा–१२ मा राष्ट्रिय विभूति शंखधर शाख्वाको प्रतिमा स्थापना, पार्क तथा पूर्वाधार निर्माणको शिलान्यास गरिएको छ ।बागमती प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री एकालाल श्रेष्ठको प्रमुख आतिथ्यता एवम् नेवा गुठी खलः पदमपोखरीका अध्यक्ष कृष्ण नगरकोटीको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा सांसद् श्रेष्ठले शंखधर शाख्वाको योगदानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार गर्न आवश्यक रहेको बताएका छन् । उनले पार्कलाई नेपालकै ठूलो तथा नमूना पार्कका रुपमा विकास गर्नुपर्ने धारणा राखे । यसका लागि पर्खाल, गेट, शंखधर शाख्वाको प्रतिमा, पोखरी, ढु·ेधारा लगायतका पूर्वाधार निर्माण गर्नुपर्ने उनको भनाई छ ।
करिब चार बिगाहा क्षेत्रफलमा फैलिएको यो क्षेत्रलाई पदमपोखरीकै सांस्कृतिक तथा पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा उनले जोड दिए । श्रेष्ठले पदमपोखरी आसपासका विभिन्न समुदायको संस्कृति जोडेर विकास गर्न सकिने बताउँदै सरकारले मात्र नभई स्थानीयस्तरबाट पनि सचेतना आवश्यक रहेको उल्लेख गरे । ‘जनस्तरबाट चासो र योगदान बढे मात्रै पदमपोखरीको वास्तविक विकास सम्भव छ,’ उनले भने ।कार्यक्रममा स्थानीय अगुवा राजेश नगरकोटीले पार्कलाई नेपालकै नमूना बनाउने प्रतिबद्धता जनाउँदै मास्टर प्लान तयार पार्न अझै केही काम बाँकी रहेको बताए । ‘यो केवल सुरुवात हो, अबको दिनमा थप योजना बनाएर शंखधर शाख्वा पार्कलाई नेपालकै उत्कृष्ट बनाउने छौँ,’ उनले बताए ।
नेवा गुठी खलः मकवानपुरका अध्यक्ष अनिल खड्गे, समाजसेवी सीताराम प्रधानलगायतले पनि कार्यक्रममा धारणा राख्दै पदमपोखरीको विकासका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताए ।पदमपोखरी क्षेत्रलाई ऐतिहासिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण क्षेत्रका रुपमा विकास गर्न सकिने धारणा कार्यक्रमका वक्ताले व्यक्त गरे । पदमपोखरीका विभिन्न स्थानमा थातथलो पूजा गर्दै यसको सांस्कृतिक महत्व उजागर गरिनुपर्नेमा उनीहरुको जोड थियो । कार्यक्रममा उपस्थित स्थानीय बासिन्दा तथा सरोकारवालाले शंखधर शाख्वा पार्कको विकासका लागि निरन्तर प्रयास गर्नुपर्ने प्रतिबद्धता व्यक्त गरे ।
सरकारले आवश्यक बजेट तथा नीति ल्याएमा पार्क छिट्टै निर्माण सम्पन्न हुने विश्वास उनीहरुको छ । कार्यक्रममा विभिन्न समुदायका व्यक्तिको उपस्थिति रहेको थियो । बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयको ७५ लाख बजेट एवम् स्थानीय श्रमदान गरी ८३ लाख ३६ हजारमा योजना निर्माण गर्न लागिएको हो ।







