पत्रकारिता क्षेत्र कमजोर हुँदा राज्यका प्रमुखनिकाय पनि कमजोर हुन्छन्

साझाकुरा
२०८१ फाल्गुन २१, बुधबार ०८:३८

हेटौंडा- नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको आयोजनामा मंगलबार पत्रकारसँग अन्तरक्रिया सम्पन्न भएको छ ।बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाको प्रमुख आतिथ्यता एवम् पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारुमगरको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा पत्रकार आबद्ध संगठनका अध्यक्षले पत्रकारिता क्षेत्रका चुनौतीबारे धारणा राखेका थिए । फोनीज बागमती प्रदेशका अध्यक्ष युवराज श्रेष्ठले राज्यको चौथो अंग पत्रकारलाई भनिएता पनि त्यो भने व्यवहारमा लागुहुन नसकेको बताएका छन् । पत्रकारिता क्षेत्र कमजोर हुँदा राज्यका प्रमुख निकायहरु कार्यपालिका, व्यवस्थापिक र न्यायपालिका कमजोर हुने उनको भनाई छ । राज्यको सम्रग विकासको नेतृत्व नै पत्रकारिताले गर्ने उनको धारणा छ ।

त्यसैगरी प्रेस सेन्टर बागमती प्रदेशका अध्यक्ष धुब्र अधिकारीले संघीयता आएपछि सञ्चारक्षेत्रमा झन् चुनौती थपिएको बताए । पत्रकारहरु पलायन हुने क्रम बढ्दै जानु दुःखद पक्ष भएको उनको भनाई छ । अध्यक्ष अधिकारीले संघ, प्रदेश र स्थानीय सरकारको आपस तालमेल नमिल्दा त्यसको प्रत्यक्ष पत्रकारलाई परेको जिकिर गरे । यस्तै प्रेस चौतारी नेपाल बागमती प्रदेशका अध्यक्ष तिलकराम रिमालले पत्रकार संगठन बलियो हुँदा पत्रकार महासंघ नै बलियो हुने भएकोले संगठनलाई गरिएको सहयोगलाई दुरुपयोगको रुपमा बुझ्न नहुने बताए ।

पत्रकारिताले देश विकासको इंगित गर्ने उनको भनाई छ । प्रदेशको उन्नतिको लागि सरकार र पत्रकारबीच सहकार्य जरुरी भएको उनको बुझाई छ । प्रेस युनियन प्रदेशका अध्यक्ष युवराज पुरीले सञ्चारसँग सम्बन्धी ऐनहरु बनाउँदा सञ्चार विज्ञसँग छलफल गर्नुपर्ने जोड दिए । त्यसरी ऐन बनाउँदा पत्रकारले पनि अपनत्व महसुस गर्ने उनको भनाई छ ।कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव पूर्णबहादुर दर्जीले पत्रकार महासंघ र संघसंगठनका लागि काम गर्नका लागि नियम कडा नबनाएको स्पष्ट पारे । सचिव दर्जीले आफूहरु महासंघसँग सहकार्य गर्न तयार रहेको बताए थिए ।

अन्तरक्रियाका प्रमुख अतिथि मुख्यमन्त्री लामाले पत्रकारितामा खोज र अनुसन्धानको ठुलो महत्व हुने बताए । उनले खोज र अनुसन्धानमूलक समाचारलाई पत्रकारले प्राथमिकता दिनुपर्ने बताए । अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री लामाले सत्यतथ्य सूचनामा आधारित भएको पत्रकारले कलम चलाउनु पर्ने जिकिर गरे । कसैप्रति पूर्वाग्रह राखेर समाचार लेख्दा त्यसले पत्रकारिता माथि नै विकृति ल्याउने उनको भनाई छ । मुख्यमन्त्री लामाले पत्रकारले स्वतन्त्रताको नाममा आफ्नो मूल्य मान्यतालाई पनि भुल्न नहुने बताए । वास्तविक विषयवस्तुलाई खोजी गरेर न्यायोचित ढंगले लेख्दा पेशाले पनि दिगोपना पाउने उनको भनाई छ ।

मुख्यमन्त्री लामाले अब पत्रकारले प्रविधिसँग नजिक रहेर काम गर्नुपर्ने उल्लेख गरे । आधुनिक प्रविधिलाई आत्मसात् गरेर अगाडि बढ्दा पत्रकारिता पेशाबाट नै पलायन हुने क्रमलाई केही हदसम्म रोक्न सकिने उनको धारणा थियो । प्रविधिमा आएको विकासले पत्रकारलाई चुनौती थपेको उनको भनाई छ । मुख्यमन्त्री लामाले पत्रकार र प्रदेश सरकारको सम्वन्ध सुमधुर हुनुपर्ने उल्लेख गरेका छन् । कुनैपनि काम नकारात्मक ढंगले भन्दा पनि सकारात्मक ढंगले गर्नुपर्नेमा उनको जोड थियो । पत्रकार महासंघ बागमती प्रदेशका नियमित कार्यसमितिको बैठक हेटौंडामा फागुन १९ र २० गते बसेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*