‘डँढेलोबाट वन जोगाउन उपभोक्ता सक्रियता आवश्यक’
हेटौंडा- वन जंगलमा डंढेलो लाग्नबाट जोगाउन सबै उपभोक्ताहरु सक्रिय हुनुपर्ने हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामाले जोड दिएका छन् ।हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरको आयोजनामा सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी र सदस्यहरुको लागि डंढेलोनियन्त्रणसम्बन्धी तालिम उद्घाटन गर्दै प्रमुख लामाले वन जोगाउने काम सबै उपभोक्ताको भएको बताए ।
महासंघ जिल्ला उपाध्यक्ष ठूलीमाया मुक्तानको सभाध्यक्षता रहेको कार्यक्रममा हेटौंडा १ नं. वडा अध्यक्ष सविन न्यौपानेले गर्मी मौसम सुरु भएसंगै वन डंढेलोको प्रकोप बढ्ने गरेको तर वन समूहका पदाधिकारीको जिम्मेवारी जस्तो गरेर उपभोक्ता सक्रिय नहुँदा वन नाश हुने गरेकोमा चिन्ता व्यक्त गरे । उनले वनमा सकेसम्म आगो लाग्नै नदिने यदि लागिहाले तत्काल सबै उपभोक्ता मिलेर निभाउनु पर्नेमा जोड दिए ।
हेटौंडा– १, २ र ५ का सामुदायिक वनका पदाधिकारी तथा सदस्य सहभागी कार्यक्रममा महासंघ केन्द्रीय सदस्य रामहरि चौलागाईं, सचिव निर्मला न्यौपाने, डिभिजन वन कार्यालयका वन अधिकृत बसन्तराज गौतम, वन डंढेलो नियन्त्रण विज्ञ बुद्धिप्रसाद पौडेललगायतले मन्तव्य तथा सहजीकरण गरेका थिए ।







