हेटौंडा अस्पतालमा मुटु रोग सम्बन्धी सेवा विस्तारको तयारी

हेटौंडा- मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्र्तगतको हेटौंडा अस्पतालले मुटु रोगसम्बन्धी सेवा विस्तारको तयारी गरेको छ । अस्पतालले आगामी आइतबारदेखि मुटुरोग उपचारसम्बन्धी सेवा दिने तयारी गरेको हो । संघीय स्वास्थ्य मन्त्रालयको सहयोगमा टिचिङ कार्डियो मनमोहन भास्कुलरमा अध्ययन गरेका मुटुरोग विशेषज्ञ डा. विकेश श्रेष्ठबाट दैनिक रुपमा सेवाप्रवाह हुने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रामचन्द्र सापकोटाले जानकारी दिएका छन् ।
अस्पतालमा मुटुरोग विशेषज्ञ डाक्टर नहुँदा रोटरी क्लव हेटौडाले दिएको उपकारण प्रयोगमा आउन सकेको थिएन । मुटुसम्बन्धी उपचारका लागि मकवानपुरबासी चितवन काठमाडौंलगायत स्थानमा जानुपर्ने अवस्था रहेको थियो । अप्रेशन बाहेकका सबै मुटुको उपचारसेवा इको, टीएमटी जस्ता परीक्षण हेटौंडाबाटै हुने मेडिकल सुपरिटेन्डेन्ट डा.सापकोटाले बताए । लामो समयदेखि प्रयास गर्दा पनि अस्पतालमा मुटुरोगसम्बन्धी सेवा सुरु गर्न कठिन थियो । विषेशगरी अस्पतालमा विशेषज्ञ डाक्टर नहुँदा सेवा सञ्चालनमा बाधा पुगेको थियो ।
अस्पतालमा यो सेवा थप भएसँगै मुटुसम्बन्धी स्वास्थ्य समस्या हुँदा भरतपुर तथा काठमाडौं जानुपर्ने बाध्यता अन्त्य भएको मेसु सापकोटाले बताए । उपमहानगरपालिकासँगको साझेदारीमा रोटरी क्लब अफ हेटौंडाले अस्पताललाई एक वर्षअघि ८० लाख रुपैयाँ मूल्य बराबरको मुटुपरीक्षण उपकरण उपलब्ध गराएको थियो ।