सबै निकायमा महिला सहभागिता हुनुपर्छः उपसभामुख चापागाई
हेटौंडा-१ सय १५ औं अन्तराष्ट्रिय नारी दिवसका अवसरमा समावेशी महिला नेतृत्वः अवसर र चुनौती विषयक अन्तरक्रिया कार्यक्रम बुधबार सम्पन्न भएको छ । बागमती प्रदेशसभा उपसभाम्ख अप्सरा चापागाईँको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा उपसभामुख चापागाईँले राज्यका सबै निकायमा महिला सहभागिता हुनुपर्नेमा जोड दिइन् । संविधान र कानूनमा उल्लेख भए बमोजिम कार्यपालिका, न्यायपालिका, व्यवस्थापिकालगायत सबै क्षेत्रमा महिलाको न्यायोचित समावेशीकरण हुनुपर्ने उनको भनाई छ । उपसभामुख चापागाईँले पुरुषले भन्दा महिलाले जिम्मेवार र जवाफदेही भएर कार्य सम्पादन गर्ने धारणा राखिन् ।
अधिकारको कुरा गर्दै गर्दा महिलाले आफ्नो जिम्मेवारीलाई कुशलतापूर्वक पूरा गरिरहेको उनको भनाई छ । कतिपय अधिकार कानुनी जटिलताको कारण पनि प्राप्त हुन नसकेको उनले बताइन् । उपसभामुख चापागाईँले विगतका दिनको भन्दा अहिले महिलाको अवस्थामा परिवर्तन आएको बताउँदै राजनीतिक र प्रशासनिक क्षेत्रमा महिलाको उपस्थिति बढ्दो रहेको उल्लेख गरिन् ।नेपालका ७ प्रदेशमा ३ सय १६ महिला सांसदले भूमिका निर्वाह गरिरहेको उनको भनाई छ । यद्यपी महिला सांसदलाई संकुचित दृष्टिकोणमा हेर्ने गरेको गुनासो भने आउने बताइन् ।
राष्ट्रिय अपा· महासंघ बागमति प्रदेश र गैरसरकारी संस्था मकवानपुरको संयुक्त आयोजनामा भएको कार्यक्रममा अधिवक्ता अप्सरा बस्नेतले समावेशी महिला नेतृत्व अवसर र चूनौती विषययक कार्यपत्र प्रस्तुत गरेकी थिइन् । कार्यपत्रमाथि जिल्ला समन्वय अधिकारी शान्ति विश्वकर्मा, मानवअधिकार आयोग बागमती प्रदेशप्रमुख पवन भट्ट, हेटौंडा उपमहानगरपालिका महिला, बालकालिका तथासमावेशीकरण महाशाखाप्रमुख विष्णुकुमारी लामिछानेलगायतले धारणा राखेका थिए । गैसस मकवानपुरकी अध्यक्ष रमिला सापकोटाको अध्यक्षतामा कार्यक्रम भएको हो ।







