आफ्नै छोराको हत्या अभियोगमा भ्लोन दम्पती पक्राउ
हेटौंडा- मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित अदुवाबारीका ६४ वर्षका मीनबहादुर भ्लोन उनका पत्नी ६३ वर्षीया देवीमाया भ्लोनलाई आफ्नै जेठो छोराको हत्या आरोपमा मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी निगरानीमा उपचार भइरहेका उनीहरुलाई आज बुधबार जिल्ला प्रहरी कार्यालय, मकवानपुरमा ल्याइएको हो । मकवानपुर प्रहरी हिरासतमा राखेर भ्लोन दम्पतीमाथि अनुसन्धान थालिने जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरीप्रवक्ता प्रहरीनायव उपरीक्षक (डीएसपी) श्यामु अर्यालले जानकारी दिए ।
उनीहरुमाथि आफ्नै ३१ वर्षीय छोरा भरतकुमार भ्लोनलाई कुटपिट गरी हत्या गरेको आरोप लागेको छ । पारिवारिक बिवादमा कुटाकुट हुँदा तीनैजना घाइते भएका थिए । जसमध्ये भरतकुमारको अवस्था गम्भीर थियो । उनको उपचारको क्रममा शनिबार भरतपुर अस्पतालमा मृत्यु भएको थियो । हत्या आरोप खेपेका भ्लोनदम्पतीको भक्तपुर अस्पतालमा लगिएको थियो ।भक्तपुर प्रहरीको निगरानीमा रहेर उपचार गराएका उनीहरुलाई बुधबार मकवानपुर ल्याइएको हो । ‘कुटपिटकै कारण मृत्यु भएको भन्ने आरोप छ । छानबीन गरेर ज्यानसम्बन्धी कसुरमा मुद्दा चल्छ,’ प्रहरीप्रवक्ता अर्यालले भने, ‘पहिला हामी उहाँहरुको स्वाथ्यस्थिति हेर्छौं । त्यसपछि मात्रै अनुसन्धानको प्रक्रिया अघि बढ्छ ।’
कुटपिटमा मीनबहादुर र देवीमाया पनि घाइते भएका थिए । भरतकुमार र बाबु–आमाबीच सम्पती भागवण्डाको विषयमा प्रायः घरझगडा पर्दै आएको प्रहरीले जनाएको छ । झगडा भएको थाहा पाएपछि छिमेकीहरुले इलाका प्रहरी कार्यालय, सिस्नेरीलाई खबर गरेका थिए । प्रहरी पुग्दा भरतकुमार अचेत अवस्थामा थिए भने भ्लोन दम्पती पनि घाइते अवस्थामा भेटिएपछि प्रहरीकै गाडीमा राखेर उनीहरु तीनैजनालाई उपचारको लागि हेटौंडा अस्पताल ल्याइएको थियो ।गत शुक्रबार साँझ भ्लोन दम्पती र छोरा भरतकुमारबीच झगडा भएको थियो । घर झगडा हुँदा बाबु–आमाले कुटपिट गर्दा भरतकुमारको टाउको फुटेको र मस्तिष्कमा रगत जमेको भरतको शनिबार मृत्यु भएको थियो ।







