हेटौंडा अटोमोवाइल्सको टोली ढल्केवरको प्लान्ट भिजिटमा
हेटौंडा- हेटौंडा अटोमोवाइल्स एसोसिएसनका पदाधिकारी तथा कार्यसमिति सदस्यले यूनाईटेड लुब्रिकेन्ट्सको प्लान्ट भिजिट गरेका छन् । एसोसिएसनका अध्यक्ष ऋषिकुमार ढकालको नेतृत्वमा गएका २० जना प्रतिनिधि मण्डलले धनुषाको ढल्केवरस्थित प्लान्ट भिजिट गरेका हु्न् ।प्लान्ट भिजिटका क्रममा एसोसिएसनका पदाधिकारीले यूनाईटेड लुब्रिकेन्ट्स इन्डस्ट्रिजमार्फत् उत्पादन हुने लुब्रिकेन्ट्सको गुणस्तरबारे जानकारी लिए । सोही कार्यक्रमको अवसरमा लुब्रिकेन्ट्स उत्पादनको प्रक्रिया, गुणस्तरको चेकजाँच, एपिआई सर्टिफिकेसन र प्रोडक्टरेन्जका बारेमा अन्तरक्रिया गरिएको कम्पनीका बिजनेस हेड दिनेश खनालले जानकारी गराए ।
यूनाईटेड लुब्रिकेन्ट्स इन्डस्ट्रिजले अटोमोटिभ र इन्डष्ट्रियल प्रयोजनमा प्रयोग हुने सबै रेन्जका भिडोल, नेपाल गोल्ड तथा दिब्योल लुब्रिकेन्ट्स उत्पादन गरी बिक्रीवितरण गर्दै आएको छ । कम्पनीले भिडोल इन्टरनेसनलसँग टेक्नोलोजी ट्रान्सफर गरी यसको ट्रेडमार्क प्रयोग गरेर लुब्रिकेन्ट उत्पादन गर्दै आएको हो । लुब्रिकेन्ट उत्पादनका लागि आवश्यक उपकरण तथा अन्य कच्चापदार्थ सबै गुणस्तरीय प्रयोग गरिएका कारण यस उद्योगबाट उत्पादित लुब्रिकेन्ट्सको माग बजारमा बढ्दै गएको कम्पनी भनाई छ ।अटोमोवाइल पाट्र्सको व्यवसाय गर्दै आएको अग्रणी कम्पनी सत्यदीप ग्रुपको अगुवाईमा युनाइटेड लुब्रिकेन्ट्स इन्डष्ट्रिजको स्थापना भएको हो । भिडोल नेपालमै उत्पादन हुने गल्फ पछिको दोस्रो बहुराष्ट्रिय ब्रान्ड समेत हो ।







