नेता बानियाँले गरे अग्निहोत्राश्रम भवनको उद्घाटन
हेटौंडा-मनहरी गाउँपालिका–९ स्थित रजैयामा निर्माण गरिएको अग्निहोत्र आश्रममा रहेको बृहस्पति भवनको शुक्रबार उद्घाटन गरिएको छ । नेपाली कांग्रेस बागमती प्रदेशसभापति तथा बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले भवनको उद्घाटन गरेका हुन् । भवनको उद्घाटन गर्दै सभापति बानियाँले सत्यको बाटोमा हिँड्न गाह्रो हुने भन्दै सबैजना सत्य र ठीकको बाटोमा हिँड्न जरुरी रहेको बताए । उनले भवन निर्माणका बाँकी कार्य सम्पन्न गर्नका लागि आवश्यक बजेट सहयोग गर्ने प्रतिवद्धता जनाए ।
आश्रमका संरक्षक डा. सीताराम खनालको सभाध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा समाजसेवी ब्यवसायी अजयराज सुमार्गी, अरुणराज सुमार्गी, कांग्रेस बागमती प्रदेश संगठन विभागप्रमुख माईकल रामचन्द्र अर्याल, प्रदेश सदस्य पुरुषोत्तम ठकुरी, कांग्रेस जिल्ला सचिव भीमसेन महत, मनहरी सभापति प्रकाश वर्तौला, ताराप्रसाद चौलागाईं लगायतको उपस्थिति रहेको थियोे । भवन निर्माणका लागि प्रदेश, स्थानीय सरकार तथा विभिन्न व्यक्तिबाट सहयोग प्राप्त भएको आश्रमका ब्यवस्थापक विनोद अर्यालले जानकारी दिए । उनका अनुसार भवनको बाँकी निर्माण कार्य यसै वर्षबाट सुरु हुने बताए ।







