स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको तयारी तीव्र

साझाकुरा
२०८१ चैत्र ४, मंगलवार ११:१८

हेटौंडा- मकवानपुर जिल्लाका विभिन्न क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको तयारी तीव्र बनाइएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत मकवानपुरमा रहेका आंगिक र सम्बन्धन प्राप्त गरी सातवटा क्याम्पसमा मंगलबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन हुँदैछ । आसन्न स्ववियु निर्वाचनलाई शान्त, भयरहित र मर्यादित वातावरणमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरका मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, प्रहरी उपरीक्षक विश्वराज खड्कासहित जिल्लामा क्रियाशील विभिन्न विद्यार्थी संगठनका प्रमुख एवम् प्रतिनिधिको उपस्थितिमा छलफल गरिएको छ ।

स्ववियु निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सबै पक्षबाट प्रतिबद्धता जनाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्लामा रहेका मकवानपुर बहमुखी क्याम्पस, हेटौंडा क्याम्पस, मनहरी क्याम्पस, निर्मल बहुमुखी क्याम्पस, एएफयु, वंशगोपाल बहुमुखी क्याम्पस र वनविज्ञान अध्ययन संस्थान हेटौंडा क्याम्पसमा निर्वाचन हुने भएको छ । अनेरास्ववियु, नेपाल विद्यार्थी संघ, अनेरास्ववियु (क्रान्तिकारी), राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन, अखिल समाजवादी ‘विप्लब’ लगायत विद्यार्थी संगठन चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

सबैजसो क्याम्पसमा विद्यार्थी संगठनले गठबन्धन गरेर चुनावी प्रतिस्पर्धामा होमिएका छन् । मकवानपुर बहुमुखी क्याम्पसमा सबैभन्दा बढी दुई हजार ६९८ विद्यार्थी अध्ययनरत छन् । निर्वाचन प्रक्रियालाई लिएर मकवानपुर बहुमखी क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) क्याम्पस इकाई समितिले र हेटौंडा क्याम्पसमा अनेरास्ववियु (क्रान्तिकारी) ले ताला लगाएकोमा वार्ताबाट सहमतिपछि ताला खोलेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*