श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन भीमफेदीबाट सिक्दै काठमाडौं, भरतपुर महानगर

साझाकुरा
२०८१ चैत्र ७, शुक्रबार ११:२१

हेटौंडा- अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रक्रिया र यसको अवस्थाबारे सिक्न महानगरसहित ६ पालिका प्रतिनिधि भीमफेदी गाउँपालिका आइपुगेका छन् ।अनौपचारिक क्षेत्रका श्रमिकलाई कोषमा आबद्ध गराउने प्रक्रिया काठमाडौं महानगरपालिकादेखि चितवनको भरतपुर महानगरपालिकासम्म ६ वटा पालिकाको जनप्रतिनिधि र कर्मचारीको टोलीले भीमफेदी आएका हुन् । अनौपचारिक क्षेत्रका श्रमिकसँगको सम्पर्क, कोषको बारेमा श्रमिकलाई पहिलोचरणमा गरिने परामर्शदेखि यसको प्रक्रियाका बारेमा काठमाडौं, भरतपुरसहित हेटौंडा उपमहानगर, माडी, शंकरापुर, बुढानीलकण्ठ नगरपालिकाबीच सिकाई आदानप्रदान गरिएको भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले बताए ।

संवैधानिक अधिकार सामाजिक सुरक्षा कोषलाई जनताले अनुभूति गर्नेगरी काम गरिएको उनको भनाई छ । भीमफेदी गाउँपालिका अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने देशकै पहिलो गाउँपालिका हो । भीमफेदीले २०८०÷८१ र ८१÷८२ मा दुई वर्षभित्र अनौपचारिक क्षेत्रका १ सय ९७ जना श्रमिकलाई कोषमा आबद्ध गराइसकेको छ । पछिल्लोपटक २६ फागुन २०८१ मा भीमफेदीले दोस्रोपटक ९९ जना श्रमिकलाई कोषमा आबद्ध गराएको हो । भरतपुर महानगरका उपमेयर चित्रसेन अधिकारी, काठमाडौं महानगरबाट रोजगार सेवाकेन्द्र प्रमुख लक्ष्मी राई, माडी नगरपालिकाबाट उपमेयर खेमराज महतो, शंकरापुरका उपमेयर समिता श्रेष्ठ, हेटौंडा उपमहानगरका प्रवक्ता तथा १ नम्बर वडाध्यक्ष सविन न्यौपाने र बुढालनीकण्ठका प्रवक्ता नवराज भट्टराई नेतृत्वको टोली भीमफेदीमा आयोजित अन्तर स्थानीय तह सिकाई आदानप्रदान कार्यक्रममा सहभागी भएको हो ।

कार्यक्रममा ७ वटै पालिकाबीच श्रमिकलाई कोषमा आबद्ध गराउने प्रक्रिया, स्रोतको सुनिश्चितता र यसको दीगोपनाको विषयमा छलफल भएको भीमफेदीका अध्यक्ष लामाले बताए । उनले संघीय र प्रदेश सरकारले अनौपचारिक क्षेत्रका श्रमिकलाई कोषमा आबद्ध गराउन स्थानीय तहलाई वित्तीय व्यवस्था गर्नुपर्ने धारणा राखे । गाउँपालिकाले आगामी वर्ष महिला स्वयंमसेविकालाई कोषमा आबद्ध गराउने योजना बनाएको छ ।भरतपुरका उपमेयर अधिकारीले ३ किलोमिटर सडक बनाउने बजेट कटाएर भएपनि श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराइने प्रतिबद्धता जनाए । ‘भीमफेदीले देशमै पहिलोपटक कार्यक्रम कार्यान्वयन गरेर सबै पालिकालाई सन्देश दिएको छ । अब भरतपुर दोस्रो हुनेगरी काम गर्छ,’ अधिकारीले भने । उनले भीमफेदीले गरेको कामको अनुशरण गर्दै सबै पालिकाले आफ्ना क्षेत्रका श्रमिकलाई कोषमा आबद्धगराउनुपर्नेमा जोड दिए ।

हेटौंडा उपमहानगरका प्रवक्ता न्यौपानेले पालिकाहरु पूर्वाधार क्षेत्रमा मात्र नभई सामाजिक क्षेत्रको विकासमा अग्रसर हुनुपर्ने बताए । ‘अनौपचारिक क्षेत्रका श्रमिकहरु ५ दिन काममा गएनन् भने घरमा छाक टुट्ने अवस्था छ । यो अवस्थाका श्रमिकलाई कोषमा आबद्ध गराएर सुरक्षित गराउनुपर्छ’ न्यौपानेले भने । कोषबाट प्रदान हुने स्वास्थ्यलगायतका सेवासुविधाका बारेमा श्रमिकलाईहरेक पालिकाले परामर्श गर्नुपर्ने उनको भनाई छ ।सामाजिक सुरक्षा योजनामा आवद्ध भएपछि श्रमिकले औषधिउपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षायोजना, दुर्घटना तथा अशक्तता सुरक्षायोजना, आश्रित परिवार सुरक्षायोजना र वृद्धअवस्था सुरक्षायोजनाबाट सुविधा उपभोग गर्न सकिने छ । श्रमिकका दम्पति र कोषमा आवद्ध भएका परिवारका १८ वर्ष मुनिका बालबालिका जस्ता विभिन्न योजनामा सहभागी भई योजनामा उल्लेख सेवासुविधा हासिल गर्न सकिने उनले बताए ।

अनौपचारिक क्षेत्रका श्रमिकका लागि तोकिएको मासिक १० हजार ८२० रुपैयाँ (महंगी भत्ताबाहेक) मा पारिश्रमिकबाट ११ प्रतिशत अर्थात १ हजार १९० रुपैयाँ र भीमफेदी गाउँपालिकाले ९ दशमलव ३७ प्रतिशत अर्थात १ हजार १४ रुपैयाँ गरी २ हजार २०४ रुपैयाँ सामाजिक सुरक्षा कोषमा जम्मा हुने गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत जीवन कुँवरले बताए । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१÷८२ मा कोषमा श्रमिकलाई आबद्धता गराउन २५ लाख बजेट विनियोजन गरेको थियो । गत आव २०८०÷८१ मा १३ लाख बजेटबाट कार्यक्रम कार्यान्वयन गरिएको गाउँपालिका कुँवरले जनाए । सामाजिक सुरक्षा कोषले ११ मंसिर २०७७ सालदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सुरु गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*