बैकुण्ठमा सञ्चालन भयो बर्थिङ सेन्टर

साझाकुरा
२०८३ बैशाख २२, मंगलवार १२:४९

हेटौंडा- मकवानपुरको विकट मानिने कैलाश गाउँपालिका–२ बैकुण्ठमा बर्थिङ सेन्टर तथा प्रसुती केन्द्र सञ्चालनमा आएको छ । धादिङको रोराङबेनिघाट गाउँपालिका–४ सँग सीमाना गाँसिएको कैलाशबैकुण्ठ क्षेत्रका गर्भवती महिलाले अब आफ्नै गाउँघरको बर्थिङ सेन्टरमा सुत्केरी गराउन पाउने भएका छन् । यसअघि घण्टौं यात्रापश्चात वडा १ कोवरभञ्ज्याङ पुग्नुपर्ने बाध्यता हटेको छ । गाउँपालिकाले प्रत्येक वडामा बर्थिङ सेन्टर सञ्चालन गरी सेवाप्रवाह गर्ने लक्ष्यका साथ २ नम्बर वडामा प्रसुती केन्द्र सञ्चालन सुरु गरिएको हो । गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले बर्थिङ सेन्टरको उद्घाटन गर्दै प्रत्येक वडामाआधारभूत स्वास्थ्यकेन्द्र भइसकेको अवस्था छ, अब हामीले दुईवटा वडामा मात्रै बर्थिङ सेन्टर सञ्चालन गर्न बाँकी रहेको बताए ।

‘बच्चा र आमाको स्वास्थ्य सुरक्षा होस् भन्ने हेतुले होम डेलिभरीको अन्त्य गर्न यस केन्द्र निर्माण गरी सञ्चालनमा ल्याएका हौं’ उनले भने । सुत्केरीबेथा लागेपछि कि डाडाँखर्क कि त पालुङ लाने गरिन्छ । कि भने मनहरी, हेटौंडा लाने अवस्था छ, जोखिम मोलेर त्यहाँसम्म जानुपर्ने बाध्यतालाई अन्त्य गर्न नै यस केन्द्रको निर्माण भएको अध्यक्ष मुक्तानले बताए । शिशुमृत्युदर र मातृमृत्युदर कम गर्न आमा र शिशुको स्वास्थ्यको सुरक्षाको लाभलिन कैलाशबैकुण्ठ मात्रै नभइ छिमेकी गाउँपालिकाले पनि सक्ने उनले बताए ।

राज्यले एउटा मापदण्ड दिएको छ । सोहीअनुरुप कैलाश गाउँपालिकाले स्वास्थ्यका क्षेत्रमा धेरै कार्यक्रम गर्दै आइरहेको छ । निशुल्क औषधि प्रदान, पोषण कार्यक्रम, खोप कार्यक्रमलगायत धेरै कार्यक्रम गर्दै आइरहेको उनले बताए । वडा २ का वडाअध्यक्ष राजेन्द्र घिसिङको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य शाखाप्रमुख तिलकप्रसाद गौतम, वडा सदस्यद्वय फूलमाया सुनार र सूर्यबहादुर स्याङ्तान, जग्गादाता ललितबहादुर मुक्तान, बैकुण्ठ आधारभूत स्वास्थ्य सेवा केन्द्रका प्रमुख विश्वनाथ सिंहलगायतको आतिथ्यता रहेको थियो । गाउँपालिकाले १० लाख लागतमा २ कोठे भवन निर्माण गरेको हो ।

बर्थिङ सेन्टर सञ्चालनका लागि सम्पूर्ण सामग्री र भौतिक संरचना पूर्ण रहेको वडाध्यक्ष घिसिङले बताए । उनले मातृशिशु मृत्युदर घटाउनकै लागि प्रसुती केन्द्र निर्माण गरिएको बताए । ‘सुत्केरी घरमा होइन अब स्वास्थ्यसंस्थामै गराउनुपर्छ’ वडाध्यक्ष घिसिङले भने । घण्टौं हिडेर जानुपर्ने बाध्यता विस्तारै सहज बन्दै गएको उनले बताए । जग्गादाता ललितबहादुर मुक्तानले करिब तीन रोपनी जग्गा दान गरेपछि स्वास्थ्य संस्था निर्माणपश्चात अहिले बाँकी जग्गामा बर्थिङ सेन्टर निर्माण गरिएको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*