अवैध सम्पत्तीको आशंकामा मुख्यमन्त्री बानियाँको घरमा छापा

राज्यको जुनसुकै निकायले अनुरोध गर्दा आफू भौतिकरुपमै उपस्थित हुन्छु : मुख्यमन्त्री बानियाँ
साझाकुरा
२०८३ बैशाख २२, मंगलवार १२:४६

हेटौंडा- बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागले छापा मारेको छ ।अवैध सम्पत्ति लुकाएका आशंका सम्पत्ति शुद्धीकरण विभागले मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सोमबार छापा मारेको हो । हेटौंडा–५ सानोपोखरास्थित बानियाँ निर्माण सेवा (बीएनएस), त्यहीँ रहेको घरमा छापा मारेर कागजपत्र नियन्त्रणमा लिएको छ । काठमाडौंको नक्साल र सुन्धारामा पनि विभागले छापा मारेको हो । नेपाली कांग्रेस बागमती प्रदेश सभापति समेत रहेका बानियाँ केही वर्षअघिसम्म निर्माण व्यवसायमा आबद्ध थिए । मुख्यमन्त्री बानियाँको हेटौंडास्थित निवासमा विभागको टोलीले करिब दुई घण्टा बिताएको स्रोतले जनायो । स्रोतका अनुसार मध्याह्न करिब १२ बजे पुगेको टोली करिब २ बजे बानियाँको घरबाट बाहिरिएको थियो ।

मुख्यमन्त्री बानियाँको घरमा विभागका ७ जना सम्मिलित टोलीले छापा मारेको हो । विभागको टोलीले मुख्यमन्त्री बानियाँको घर तथा निर्माण कम्पनीको कार्यालयबाट केही कागजात अनुसन्धानका लागि लगेको बताइएको छ ।बानियाँ संसदीय दलको बैठकमा सहभागी भएको अवस्थामा छापा मारिएको घटनाबारे जानकारी पाएका थिए । संसदीय दलको बैठकमा सभामुख चयन र मन्त्रिपरिषद् फेरबदलबारे छलफलभइरहेको थियो ।

मुख्यमन्त्री बानिया“को आपत्ती : बागमती प्रदेशका मुख्यमन्त्री बानियाँले आफ्नो घर तथा कार्यालयमा छापा मारिएको विषयमा आपत्ति जनाएका छन् । सोमबार मुख्यमन्त्री बानियाँको हेटौंडा–५ स्थित निवास र उनकै स्वामित्वमा रहेको बानियाँ निर्माण सेवाको विभिन्न स्थानमा रहेका कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोलीले छापा मारेको हो ।घटनापछि मुख्यमन्त्री बानियाँले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो धारणा सार्वजनिकगरेका हुन् । आफू मुख्यमन्त्री भएदेखि नै सुशासन, पारदर्शिता र भ्रष्टाचारमुक्त समाज निर्माणलाई प्राथमिकतामा राखेको जिकिर गर्दै बानियाँले सोहीअनुसार आफूले बागमती प्रदेश सरकारको सार्वजनिक कार्यसञ्चालनमा खर्च कटौतीका साथै आर्थिक मितव्ययिताका लागि निरन्तर काम गर्दै आएको जनाएका छन् ।

‘मैले बागमती प्रदेश सरकारको सार्वजनिक कार्यसञ्चालनमा खर्च कटौतीका साथै आर्थिक मितव्ययीताका लागि निरन्तर काम गर्दै आएको छु,’ उनले भनेका छन्, ‘आवश्यकता र औचित्यतामा आधारित योजना तथा कार्यक्रम र बजेटमा पारदर्शितालाई नीतिगतरुपमा अगाडि बढाइएको ब्यहोरा सबैको जानकारीमा छ ।’ ‘तीनतहको सरकार समन्वय, सहअस्तित्व र सहकार्यका आधारमा चलेको हुन्छ,’ मुख्यमन्त्री बानियाँले विज्ञप्तिमा भनेका छन्, ‘संघीय सरकारले गर्ने सकारात्मक कार्यमा प्रदेश सरकारको नेतृत्वकर्ताको रुपमा मुख्यमन्त्रीको सधैँ साथ रहन्छ ।’राज्यको जुनसुकै तहले सुशासनको पक्षमा गर्ने हरेक कार्यमा आफू सहयोग गर्न तत्पर रहेको मुख्यमन्त्री बानियाँले प्रस्ट पारेका छन् ।

मुख्यमन्त्री बानियाँको घरमा दुई घण्टासम्म खानतलासी ग¥यो सम्पत्ति शुद्धीकरण विभागको टोलीले ‘राजनीतिक र व्यावसायिक जीवनका बारेमा गर्ने छानबीनलाई मैले सकारात्मकरुपमा लिएको छु,’ उनले विज्ञप्तिमा भनेका छन्, ‘तर, विभिन्न सञ्चारमाध्यममा आएको समाचारअनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको नाममा गरेको छापामारीले मेरो व्यक्तिगत एवं सामाजिक चरित्रमाथि आघात पुगेको महसुस भएको छ । राज्यको जुनसुकै निकायले अनुरोध गर्दा आफू भौतिकरुपमै उपस्थित हुने विद्यमान अवस्थामा अकस्मात् गरिएको छापामारीप्रति आपत्ति जनाउँदछु ।’उनले संवैधानिक र कानुनी दायरामा रहेर गरिने हरेक अनुसन्धानमा पूर्णसमर्थन र सहयोग रहने प्रतिबद्धतासमेत जनाएका छन् । उनले भनेका छन्, ‘सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको छापामारीबाट बागमती प्रदेशवासी एवं मेरा शुभेच्छुक र शुभचिन्तकलाई भ्रमित र चिन्तित नहुनु अनुरोध गर्दछु ।’

मुख्यमन्त्री बानिया“विरुद्ध प्रतिशोध सा“धियोः कांग्रेस मकवानपुर

नेपाली कांग्रेस मकवानपुरले बागमती प्रदेशका सभापति एवं मुख्यमन्त्री बानियाँमाथि गरिएको पछिल्लो कदमप्रति गम्भीर आपत्ति जनाएको छ । जिल्ला कार्यसमिति मकवानपुरद्वारा जारी विज्ञप्तिमा राजनीतिक पूर्वाग्रहबाट प्रेरितभई सरकारले सम्पत्ति शुद्धीकरण अनुसन्धानको नाममा अस्वाभाविक तरिकाले कदम चालेको आरोप लगाइएको छ । नेपाली कांग्रेस मकवानपुर सभापति बुद्ध लामाद्वारा हस्ताक्षरित विज्ञप्तिमा सामान्य सूचना र संवैधानिक प्रक्रियाको अवलम्बन नगरी गरिएको यस्तो कार्यले लोकतान्त्रिक मूल्य मान्यता माथि प्रहार गरेको उल्लेख गरिएको छ । पार्टीले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै निष्पक्षता र पारदर्शिताको सिद्धान्तविपरीत गरिएको कुनै पनि गतिविधि स्वीकार्य नहुने स्पष्ट पारेको छ ।

कांग्रेस मकवानपुरले राजनीतिक जीवनमा लामो समयदेखि सुशासन, पारदर्शिता र भ्रष्टाचारमुक्त समाज निर्माणमा प्रतिबद्ध व्यक्तित्वमाथि गरिएको व्यवहारप्रति आपत्ति जनाउँदै अनुसन्धानका नाममा गरिने कुनै पनि कार्य कानुनी प्रक्रिया र मानवीय मर्यादाभित्र रहनुपर्ने बताएको छ । विज्ञप्तिमा राज्यका निकायद्वारा गरिने अनुसन्धानमा पूर्णसहयोग रहने उल्लेख गर्दै लोकतन्त्र, मानवअधिकार र विधिको शासनको सम्मान हुनुपर्नेमा जोड दिइएको छ । यस्ता घटनाले सरकारको नियत माथि प्रश्न उठाउने भन्दै पार्टीले कडा शब्दमा भत्र्सना गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*