निर्माण व्यवसायीलाई सिडियोको आग्रह ‘कामप्रति जवाफदेही हुनुस्’
हेटौंडा-मकवानपुरकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले निर्माण व्यवसायीलाई जिम्मा लिएको काम समयमै पूरा गर्न आग्रह गरेकी छिन् ।निर्माण व्यवसायी संघ मकवानपुरले बिहिबार आयोजनागरेको स्वागत कार्यक्रममा बोल्दै उनले हतारमा न्यूनतम मूल्यमा ठेक्का सम्झौता गर्ने तर, काम नगर्ने परिपाटीको अन्त्य गर्नुपर्नेमा जोड दिइन् । उनले निर्माण व्यवसायीमा कामप्रति जवाफदेहिता न्यून भएको बताइन् । ‘सोचेको भन्दा पनि धेरै बिलोमा ठेक्का लिनुहुन्छ, त्यसमा तपाईहरुले टेक्निकल्ली विचार गर्दिनुप¥यो’ उनले भनिन् ।
प्रमुख जिल्ला अधिकारी श्रेष्ठले सरकार र निर्माण व्यवसायी दुबैमा समस्या रहेको बताइन् । एकातिर निर्माण व्यवसायीले सम्पन्न भइसकेका कामको भुक्तानी नपाउँदा अर्कोतिर सरकारले बजेट छुट्याउँदा पनि फ्रिज हुने अवस्था रहेको उनले जिकिर गरिन् । आर्थिक मन्दीको समयमा सबैले आआफ्नो तर्फबाट योगदान गर्न उनले आग्रह गरिन् । निर्माण व्यवसायीलाई भइरहेको कानुनी अड्चनको गाँठो फुकाउन सरकार तयार रहेको उनले बताइन् । प्रमुख जिल्ला अधिकारी श्रेष्ठले सरकार आफ्नो भूमिकाबाट बिमुख नहुने समेत प्रतिबद्धता जनाइन् तर, जिम्मा लिएका साना, ठूला सबै योजनालाई निर्माण व्यवसायीले सम्पन्न गर्नुपर्ने उनले बताइन् ।
प्रमुख जिल्ला अधिकारी श्रेष्ठले वर्तमान समयमा निर्माण व्यवसायीले समाजको विश्वास नै जित्न नसकेको बताइन् । ‘हामी तपाईहरुसँग कानुनीरुपमा सहजीकरण गर्न तयार छौँ तर, यहाँहरुले पनि अनटाइम काम गर्नुप¥यो’ उनको आग्रह थियो ।प्रमुख जिल्ला अधिकारी श्रेष्ठले सन् २१०० सम्म समुन्नत राष्ट्र बनाउने अभियानलाई निर्माण व्यवसायीको पनि महत्वपूर्ण भूमिका रहने बताइन् । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरागर्ने प्रमुख आधार निर्माण व्यवसायी नै रहेको उनको भनाई छ । निर्माण व्यवसायी सक्षम, दक्ष भएमात्र राष्ट्र निर्माणको लक्ष्य प्राप्त गर्न सकिने उनको धारणा थियो । उनले निर्माण व्यवसायीको पनि क्षमता विकास गर्नुपर्नेमा जोड दिइन् । कानुनबमोजिम काम गर्न व्यवसायीलाई अभिप्रेरित गर्न पनि उनले संघलाई आग्रह गरिन् । प्रमुख जिल्ला अधिकारी श्रेष्ठले कानुन निर्माणको क्रममा पनि व्यवसायीको सल्लाह सुझाव जरुरी भएको बताइन् ।
निर्माण व्यवसायी सफल हुँदा पनि नेतृत्ववर्ग सफल हुने उनको भनाई छ । बलियो पूर्वाधार निर्माणबाट मात्र समृद्ध समाज निर्माण गर्न सकिने उनले बताइन् । त्यसैगरी कार्यक्रममा हेटौंडा उपमहानगरपालिका प्रमुख प्रशासकीयअधिकृत भरत गौतमले आफूहरुबीच कमकमजोरीलाई सुधार गर्दै अगाडि बढ्ने बताएका छन् ।कार्यक्रममा संघका अध्यक्ष बालगोपाल कँडेलले निर्माण व्यवसायीले भोग्नुपरेका समस्यामा जानकारी गराएका थिए । संघका महासचिव राजेन्द्रप्रसाद चौलागाईँले १ करोड रुपैयाँसम्मका योजना पनि उपभोक्ता समितिमार्फत् नभई टेन्डरमार्फत् नै हुनुपर्ने बताए । निर्माण सामग्रीमा भएको अस्वभाविक मूल्यवृद्धि, समयमै भूक्तानी नपाउँदा परेको समस्या लगायतका विषयमा उनले जानकारी गराए ।







