बागमती प्रदेश विश्वविद्यालयको डिनमा विश्वकर्मा नियुक्त

हेटौंडा-बागमती प्रदेश विश्वविद्यालयको कानुन तथा व्यवस्थापन संकायको डिनमा डा.गंगाराम विश्वकर्मा नियुक्त भएका छन् । डिन सिफारिस समितिको सिफारिसमा विश्वविद्यालयको बोर्ड अफ ट्रस्टीका अध्यक्ष चन्द्रमणि पौडेलले डा. विश्वकर्मालाई कानुन र व्यवस्थापन संकायको डिनमा नियुक्त गरेका हुन् । उनलाई तत्काल लागू हुनेगरी व्यवस्थापन तथा कानुन संकायको डिनमा नियुक्त गरेको विश्वविद्यालयका उपाध्यक्ष डा. कुसुमराज सुवेदीले जानकारी दिए । उनका अनुसार व्यवस्थापन र कानुन संकायको शैक्षिक कार्यक्रम, अनुसन्धान पहल र प्रशासनिक कार्यको निरीक्षण गर्नेगरी उनको जिम्मेवारी तोकिएको डा. सुवेदीले बताए ।
उनको उद्देश्य शिक्षाको गुणस्तर बढाउने, नवप्रवर्तन, अनुसन्धानलाई बढवा दिने र संकायभित्र सामुदायिक संलग्नतालाई सुदृढ गर्ने उनको भूमिका रहेको छ । विश्वविद्यालय गत फागुन ११ मा डिन नियुक्तिका लागि सार्वजनिक सूचना आह्वान गरिएको थियो । प्रदेश उच्चशिक्षा ऐन, २०७८ तथा नियमावली, २०७९ संशोधन सहित, प्रदेश विश्वविद्यालयको विधान, २०८१ र बागमती प्रदेश विश्वविद्यालयको डीन सिफारिससम्बन्धी मापदण्ड, २०८१ अनुसार आवेदन माग गरिएको थियो । सूचनाको आधारमा पेस भएका निवेदनबाट ५ जनाको नाम सर्टलिस्ट गरेर छनोट गरिएको डा. सुवेदीले बताए ।
विश्वविद्यालयले धरमपुर–५, झापाका डा. विश्वकर्मा सहित भक्तपुर–९, भक्तपुरका डा. डिबंगर खोटेजा, दोरम्बा–३, रामेछापका डा. दीपक महत, भरतपुर–४, चितवनका डा. सुदीप वाग्ले र रुपाकोट–३, तनहूँका डा. शिवराज अधिकारीको नाम संक्षिप्त सूचितमा समावेश गरेर प्रस्तुतीकरण तथा अन्तरवार्ताका लागि चैत ५ गते बोलाएको थियो । अन्तरवार्ता र प्रस्तुतीकरणको आधारमा डा. विश्वकर्मालाई डिनमा नियुक्त गरिएको डा.सुवेदीले बताए ।