विपन्नसँग अध्यक्ष कार्यक्रम अन्तर्गत ७ जनाले गरे सम्झौता

साझाकुरा
२०८१ चैत्र ७, शुक्रबार ११:२९

हेटौंडा- मकवानपुरको विकट मानिने कैलाश गाउँपालिकाले सञ्चालन गरेको विपन्नसँग अध्यक्ष कार्यक्रममा ७ जना किसान तथा उद्यमीले सम्झौता गरेका छन् । विहीबार गाउँपालिकामा एक अन्तरक्रिया गरेसँगै छनोटमा परेका ७ जनाले कार्यक्रममा सम्झौता गरेका हुन् । गाउँपालिकाले कार्यविधि तयारी पारेर व्यवसाय र उद्यमीका साथै कृषि तथा पशुपालन क्षेत्रमा बीउपूँजी अनुदानस्वरुप विपन्नसँग अध्यक्ष कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले बताए । कार्यविधिमा तोकिएको अनुदान हामी प्रदान गर्नेछौं, दीर्घकालीनरुपमा आर्थिकपक्ष बलियो होस् भन्ने हेतुले यी कार्यक्रम सञ्चालन गरेका हौं, अध्यक्ष मुक्तानले भने ।

उनले अनुदानलाई सदुपयोग गरेर व्यवसाय वृद्धि विकास गर्नेलाई गाउँपालिकाले सम्मान समेत गर्ने बताउँदै लाभान्वितलाई प्रतिफल आउने गरी काम गर्न आग्रह समेत गरेका छन् । कार्यविधिमा व्यवसाय मात्र नभई विपन्नवर्गलाई उपचार, काजक्रिया लगायत अन्य क्षेत्रमा समेत सहयोग पु¥याउने गरेको अध्यक्ष मुक्तानले बताए । १६ जनाले आवेदन दिएकोमा कार्यविधिको मापदण्ड अनुसार ७ जना छनोट गरिएको महिला तथा बालबालिका शाखा प्रमुख रमिला सापकोटाले बताइन् ।

छनोटमा परेकामध्ये २ जना मौरीपालन, २ जना टनेलभित्र तरकारीखेती, एक÷एक जना किराना, टेलर्स र कुटानीपिसानी मिलको लागि सम्झौता गरिएको सापकोटाले बताइन् । गतवर्ष भने १७ जनाले कार्यक्रममा सहभागिता जनाएकाथिए । बीउपुँजीको लागि कार्यविधिमा उल्लेख बमोजिम छनोट भएका प्रतिव्यक्ति २० हजार अनुदानस्वरुप प्रदान गरिने गरेको सापकोटाले बताइन् । सम्झौता कार्यक्रममा गाउँपालिकाका अध्यक्ष मुक्तान, प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठ, महिला तथा बालबालिका शाखाप्रमुख रमिला सापकोटालगायत लाभग्राहीको उपस्थिति रहेको थियो । सम्झौता पश्चात लाभग्राहीले कार्यविधिमा भए बमोजिम आफूले कार्यान्वयन गरिने बताएका छन् । आफ्नो व्यवसाय वृद्धिका साथै आर्थिकपक्षलाई समेत वृद्धि हुनेगरी काम गरिने बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*