पूर्व राष्ट्रसेवक कर्मचारीको गुनासो सविधानमा भएको व्यवस्था कार्यान्वयन हुन सकेन
हेटौंडा- सेवानिबृत्त राष्ट्रसेवकहरुको बिज्ञतालाई राज्यले प्रयोग गर्न नसकेकोमा चिन्ता र चासो ब्यक्त गरिएको छ । शनिबार हेटौंडामा पूर्वकर्मचारी सेवा परिषद् बागमती प्रदेश समितिले आयोजना गरेको अन्तरक्रियामा सहभागीहरुले संविधानमा ब्यवस्था भएपनि कार्यान्वयनमा आउन नसकेको मा चिन्ता गरेका हुन् । परिषद्का बागमती प्रदेश अध्यक्ष तीर्थराज पराजुलीको सभाध्यक्षतामा भएको अन्तरक्रियामा परिषद्का केन्द्रीय अध्यक्ष नेपाल सरकारका पूर्वसचिव बालकृष्ण प्रसाईंले संविधानले पूर्व राष्ट्रसेवक कर्मचारीको बिज्ञतालाई राज्यको बिभिन्न क्षेत्रमा प्रयोग गरिने उल्लेख भएको तर, ब्यवहारमा लागू हुन नसकेको बताए । सेवानिबृत्त कर्मचारीले हासिल गरेको अनुभवलाई नयाँ पुस्ताका कर्मचारीमा हस्तान्तरण गर्न सरकारले ऐन, कार्यबिधि बनाएर लागू गर्ने विषयमा चासो नदिएको अध्यक्ष प्रसाईले बताए ।
परिषद्का केन्द्रीय उपाध्यक्ष रामबाबु नेपालले पूर्वराष्ट्रसेवकसँग भएको अनुभव, ज्ञान, सीपलाई राज्यले पहिचान गरी आवश्यकता अनुसार प्रयोग गर्न सकेको खण्डमा समृद्ध समाजको निर्माण हुनसक्ने बताए । परिषद्का केन्द्रीय महासचिव गोबिन्दमणि भुर्तेलले हाल मुलुकमा ८८ हजार भन्दा बढी पूर्वकर्मचारी पेन्सनमा बसिरहेको र तीमध्ये अधिकांशसँग भएका अनुभवलाई राज्यले पहिचान गरी मुलुकको हितका निम्ति परिचालन गर्नुपर्ने बताए । हेटौंडाका सेवानिबृत्त शिक्षक ह्यग्रीब आचार्यले कार्यक्रममा सहजीकरण गरेका थिए ।
कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले राष्ट्रसेवक कर्मचारीलाई हेर्ने आम सर्वसाधारणको नजर नकारात्मक बन्दै गएकोमा चिन्ता ब्यक्त गर्दै सेवानिबृत्त कर्मचारीमा भएको सीप, अनुभवलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नसकेको खण्डमा कर्मचारी संयन्त्रमा थप सुधार आउने बताइन् । राष्ट्रसेवकले तीन दसक भन्दा बढी समय सेवारत रहेको अवस्थामा हासिल गरेको अनुभव र सीपलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने मेकानिजम बनाएर सहकार्य गर्न आफूहरु तयार रहेको उनको धारणा थियो ।
कार्यक्रममा हेटौंडा–४ का वडाअध्यक्ष नबीन सिग्देलले सेवानिबृत्त कर्मचारी सामाजिक कार्यमा अग्रसर हुन जरुरी रहेको बताए । वडाअध्यक्ष सिग्देलले भने–‘सेवानिबृत्त भएपछि आफ्नो दैनिकीलाई अझै क्रियाशील बनाएर लामो समयसम्म हासिल गरेको अनुभव र सीपलाई समाजमा लगाउन हामी सहकार्य गर्न तयार छौं’ । परिषद्का प्रदेश उपाध्यक्ष श्यामप्रसाद सुबेदी, नेपाल जनप्रशासन संघका अध्यक्ष एबम् कर्मचारी संचयकोष हेटौंडाका प्रमुख डा. दिलिपराज पौडेल, परिषद्का चितवन शाखाअध्यक्ष शोभाकान्त कँडेललगायतले आफ्ना धारणाराखेका थिए ।







