कृषि उत्पादन वृद्धिका लागि माटो परीक्षण

हेटौंडा-थाहा नगरपालिकामा माटोको गुणस्तर सुधार र कृषिउत्पादन वृद्धिका लागि माटो परीक्षण गरिएको छ । कृषि विकास शाखा थाहा नगरपालिका र माटो तथा मल परीक्षण प्रयोगशाला, हेटौंडाको प्राविधिक सहयोगमा माटो परीक्षण कार्यक्रम भएको हो । आर्थिक वर्ष २०८२÷८२ को वार्षिक स्वीकृत कार्यक्रमअनुरुप थाहा नगरपालिकाभित्र रहेका १ देखि १२ नम्बर वडाबाट संकलित ३ सय ३७ वटा माटोको नमूना परीक्षण गरिएको कृषि विकास शाखा थाहाका अधिकृत सन्जय तिवारीले जानकारी दिए । तिवारीका अनुसार थाहा नगरपालिकाको खेतबारीको माटोमा प्रांगारिकपदार्थ र नाइट्रोजनको मात्रा कमि पाइएको छ । माटोको पिएच ४ देखि ८.४ सम्म पाइएको छ जबकी माटोमा पिएचको मात्रा ६.५ देखि ७.५ सम्म उपयुक्त मानिन्छ ।
रिपोर्टले थाहानगरको माटोमा फस्फोरस र पोटासको मात्रा पनि प्रयोगशालाको रिपोर्टले देखाएको छ । कार्यक्रम मार्फत माटोको पोषण तत्व, आवश्यक मलको मात्रा परीक्षण गरिएको थियो । माटो परीक्षणको निम्ति माटो तथा मल परीक्षण प्रयोगशाला हेटौंडाका प्रमुख डाक्टर जनार्दन खड्का सहितको प्राविधिक टोली खटिएका थिए । माटो परीक्षण कार्यक्रमबाट किसानले खेतीयोग्य जमिनकोउपयुक्तता थाहा पाउने र आवश्यक मल तथा सुधारात्मक उपाय अवलम्बन गर्न सक्ने विश्वास लिइएको छ ।
नगर कृषि शाखाका अनुसार आगामी दिनमा यस्ता कार्यक्रमलाई थप प्रभावकारी बनाइने योजना रहेको छ ।परीक्षणको लागि वडा नं. १ बाट १४, वडा नं. २ बाट ७६, वडा नं. ३ बाट २८, वडा नं. ४ बाट १८ ,वडा नं. ५ बाट २५, वडा नं. ६ बाट २५ किसानको खेतबारीको माटो परीक्षण गरिएको थियो । त्यसैगरी वडा नं. ७ का २७, वडा नं. ८ को २४ र वडा नं. ९ को १५ किसानको माटो परीक्षण गरिएकोमा वडा नं. १० को २५, वडा नं. ११ को ३८ र वडा नं. १२ को १२ किसानको खेतबारीको माटो परीक्षण गरिएको कृषि शाखाप्रमुख तिवारीले जानकारी दिए ।