क्षयरोगका ४० प्रतिशत बिरामी लुकेरबसेको हुनसक्ने अनुमान

हेटौंडा-क्षयरोगका ४० प्रतिशत बिरामी समाजमा लुकेरबसेको हुनसक्ने अनुमान गरिएको छ । विश्व क्षयरोग दिवसको पूर्वसन्ध्यामा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले पत्रकार सम्मेलनको आयोजना गर्दै यो जानकारी दिएको हो । पत्रकार सम्मेलनमा केन्द्रका निर्देशक डा. श्रीराम तिवारीले गतवर्ष पत्ता लागेका ४० हजार सात सय ७६ जना बिरामी उपचाररत रहेको जानकारी दिएका छन् । उनले नेपालमा वार्षिक ६८ हजार क्षयरोगका बिरामी हुने गरेको तथ्यांक रहेको जानकारी दिए ।
निर्देशक तिवारीले उपचारको दायरामा नआउने र लुकेर बस्ने बिरामीको खोजी गर्न केन्द्रले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताए । क्षयरोगी बिरामीमा पुरुषको संख्या ६१ प्रतिशत तथा महिलाको संख्या ३९ प्रतिशत रहेको उनको भनाई छ । तिवारीकाअनुसार १४ वर्षमुनिका बालबालिकामा समेत क्षयरोगको संक्रमण बढ्दै गएको छ । क्षयरोग बिरामीमा १४ वर्षमुनिका बालबालिका ८.६ प्रतिशत रहेको उनले बताए ।