‘दलित महिलाको बजेट पहुँचका आधारमा पुरुषमा पुग्ने गरेको छ’
हेटौंडा-सरकारको नीति, कार्यक्रम र बजेट दलित महिलालक्षित नभएको सरोकारवालाले गुनासो गरेका छन् ।दलित महिला संघ (फेडो) मकवानपुरको आयोजनामा सोमबार हेटौंडामा भएको सामाजिक समावेशीकरण दलित महिलाको अवस्था र सरोकारवालाको भूमिका विषयक बागमती प्रदेशस्तरीय अन्तरक्रियामा उनीहरुले गुनासो गरेका हुन् । सरकारले दलित महिलाको लागि छुट्याएको बजेट पहुँचको आधारमा दलित पुरुषमा पुग्ने गरेको उनीहरुको बुझाई छ ।
तीनवटै तहको सरकारले दलितको क्षेत्रमा न्युन बजेट विनियोजन गर्ने गरेको उनीहरुको गुनासो छ । राज्यका महत्वपूर्ण निकायमा अर्थपूर्ण नेतृत्वको लागि अभियान नै सञ्चालन गर्नुपर्ने कार्यक्रममा सहभागीले बताएका छन् । अन्य समुदायको तुलनामा दलित महिलाको शिक्षामा कम पहुँच भएकोले आर्थिकरुपमा सबल हुन नसकेको उनीहरुले बताएका छन् । दलित महिलाले उत्पादन गरेको वस्तुको बजारीकरणमा समेत समस्या पर्ने गरेको उनीहरुको गुनासो छ ।
आर्थिक रुपमा नै दलित समुदायलाई सबल बनाउन सरकारले लगानीमा बृद्धि गर्नुपर्ने उनीहरुको धारणा छ । दलित महिलाको उद्यमशीलता प्रवद्र्धन गर्न सहुलियतपूर्ण ऋण र तालिमको व्यवस्था गर्नुपर्ने उनीहरुको माग रहेको छ । छुवाछुत र जातीयहिंसामा संलग्नलाई कडा कानुनको व्यवस्था गरी कठोर सजाय हुनुपर्ने उनीहरुको भनाई छ । दलहरुको राजनीतिक कुचक्रमा दलित, अल्पसंख्यक, पिछडिएका वर्गहरु पर्न नहुने उनीहरुको माग छ ।
दलित महिलाको राजनीतिक पहुँच सुनिश्चित्त गर्ने नीति पनि सरकारले अख्तियारी गर्नुपर्ने उनीहरुको माग छ । समाजमा दलितहरु अन्य समुदायसँग प्रतिस्पर्धा गर्न तयार भएपनि उचित वातावरण अझै निर्माण हुन नसकेको उनीहरुले उल्लेख गरेका छन् । अब बन्ने सरकारको नीति, कार्यक्रम र बजेटमा लैंगिक र सामाजिकरुपमै विशेष सम्बोधन हुने नीति ल्याउनुपर्ने उनीहरुको भनाई छ ।
कार्यक्रममा नेपालभर हिंसापीडित दलित महिलाको कुल संख्या ११ दशमलब ५४ प्रतिशतरहेको समेत जानकारी गराइएको छ । फेडो मकवानपुरका अध्यक्ष पवित्रा विश्वकर्माको सभाध्यक्षता एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।







