मनहरी र कैलाशमा प्रावि तहका नवनियुक्त शिक्षकलाई पदस्थापन

साझाकुरा
२०८१ चैत्र १२, बुधबार १२:११

हेटौंडा- मकवानपुरको कैलाश गाउँपालिकाले प्राथमिक तहमा नवनियुक्त शिक्षकलाई पदस्थापनापत्र हस्तान्तरण गरिएको छ । शिक्षा आयोगबाट प्राथमिक तहका स्थायीमा नाम निकालेका शिक्षकलाई योग्यताक्रम र शिक्षकले छनोट गरेको विद्यालयको आधारमा पत्र हस्तान्तरण गरिएको हो । गाउँ शिक्षा समितिका संयोजक एवम् गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले पत्र हस्तान्तरण गर्दै योग्यताक्रम र छनोट गरिएको विद्यालय अनुसार शिक्षकलाई विद्यालयको लागि पदस्थापना गरिएको बताए । किताबको सिकाई मात्रै नभई व्यवहारिक सिकाईतर्फ पनि ध्यान दिन उनले आग्रह गरे ।

चुनौतीसँगै अवसर समेत रहेको छ, विद्यालयमा भर्ना भएका विद्यार्थीलाई अन्तिम परीक्षासम्म कसरी टिकाउने भन्ने कुरा यहाँहरुको शिक्षणमा आधार रहन्छ, अध्यक्ष मुक्तानले भने । शिक्षा, स्वास्थ्य र बजेट कार्यान्वयनका सूचांकले वित्तीय समानीकरण बजेट वृद्धि हुनाले त्यसतर्फ यहाँहरुले ध्यान दिनु जरुरी रहन्छ । अध्यक्ष मोक्तानले भने–‘शिक्षा प्रदानतर्फ ध्यान दिनुस्, गाउँपालिकाले यहाँहरुको अभिभावकत्व निर्वाह गर्छ’ । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठले नवनियुक्त शिक्षकलाई स्वागत गर्दै उच्चमनोबलका साथ सेवाप्रवाह गर्न आग्रह गरेका थिए ।

गाउँपालिकाले माग गरेअनुरुप ३७ जना शिक्षकलाई पदस्थापना गरिएको शिक्षा, युवा तथा खेलकुद विकास शाखाप्रमुख समीर जोशीले बताए । शैक्षिक सत्र २०८१ मा गाउँपालिकामा छात्र दुई हजार पाँच सय २८ र छात्रा दुई हजार सात सय ५५ जना विद्यार्थी रहेको जोशीले बताए । गाउँपालिकामा ४७ वटा प्रारम्भिक बालविकास केन्द्र, कक्षा १ देखि ३ सम्मको १२ वटा, कक्षा एकदेखि ५ सम्मको २३ वटा, कक्षा १ देखि ८ सम्मको ४ वटा, कक्षा १ देखि १० सम्मको ५ वटा र कक्षा १ देखि १२ सम्मको एक विद्यालय सञ्चालनमा रहेको प्रमुख जोशीले बताए ।

यस्तै मनहरी गाउँपालिकामा शिक्षक स्वर्णिम अवकास योजनामा सहभागी ६ जना शिक्षकलाई बिदाई र रिक्त दर्बन्दीमा नवनियुक्त १० जना शिक्षकलाई पदस्थापन गरिएको छ । लामो समयदेखि शिक्षणपेशामा आवद्ध रही शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने शिक्षकको योगदानको उच्च कदर गर्दै सम्मान गर्नका लागि कार्यविधि वमोजिम बिदाई गरिएको बताइएको छ । ५ जना प्राथमिक तहको र १ जना निमावि तहको स्थायी शिक्षकलाई मनहरी गाउँपालिकाले अवकास योजनामा सहभागी गराइ १ लाखदेखि २ लाख ५० हजार रुपैयाँसम्म मौद्रिक प्रोत्साहन, सम्मानपत्र तथा दोसल्ला ओडाएर सम्मान गरेको गाउँपालिका शिक्षा शाखाप्रमुख प्रदीप पराजुलीले जानकारी दिएका छन् । यस्ता कार्यक्रमवाट शिक्षकको मनोवल र पेशाप्रति सम्मान वढेको अवकाश योजनामा सहभागी शिक्षकको भनाइ रहेको छ ।

स्वर्णिम अवकासपछिरिक्त हुने पदमा शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरवाट पदस्थापनाका लागि आएका शिक्षकलाई पदस्थापना कार्यविधिवमोजिम पदस्थापन गरिएको पराजुलीले जानकारी दिए । विद्यालयमा नवप्रवेशी शिक्षकलाइ स्वागत गर्न विद्यालयका प्रधानध्यापकहरु, पशुपतिनाथ मावि ब्यवस्थापन समिति अध्यक्ष माधव गौतम, गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीलगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*