फरेस्ट्रीका विश्वविद्यालय, क्याम्पसको मुख्यमन्त्रीद्वारा निरीक्षण
हेटौंडा- बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले हेटौँडास्थित फरेस्टूीका एक विश्वविद्यालय र एक क्याम्पसको निरीक्षण गरेका छन् । मुख्यमन्त्री लामाले बिहीबार हेटौंडा–१० स्थित कृषि तथा वनविज्ञान विश्वविद्यालय, वन संकाय (एएफयू) र वन विज्ञान अध्ययन संस्थान हेटौंडा क्याम्पस (फरेस्ट्री)को निरीक्षण गरेका हुन् । मुख्यमन्त्री लामाले क्याम्पसको भौतिक संरचना, शिक्षाको गुणस्तर, ल्याब तथा संग्रहालय र विद्यार्थीबारे जानकारी लिएका थिए । सो अवसरमाफरेस्ट्रीभित्र रहेका दुई क्याम्पस बीचको विवादका विषयमा पनि मुख्यमन्त्री लामालाई जानकारी गराइएको थियो । निरीक्षणका क्रममा कृषि तथा वनविज्ञान विश्वविद्यालय (वन संकाय) का डिन डा. वासुदेव पोखरेलले एएफयूतर्फको शैक्षिक तथा प्राज्ञिक र संरचनाको अवस्थाबारे जानकारी गराएका थिए ।
उनले हाल विश्वविद्यालय अन्तर्गत ल्याब, नर्सरी तथा भौतिक संरचनाको अभाव रहेको जानकारी गराएका थिए । उनले ल्याब, नर्सरी, भौतिक संरचना तथा होस्टेल निर्माणका लागि स्रोत व्यवस्थापन गर्न आवश्यक पहल गरिदिन आग्रह समेत गरेका थिए । टियूतर्फको वनविज्ञान अध्ययन संस्थानका क्याम्पस प्रमुख डा. शिवकुमार माञ्जनले होस्टेल तथा भौतिक संरचना र बसका लागि स्रोत व्यवस्थापन गर्नुपर्ने बताएका थिए । क्याम्पुसमा बस नहुँदा विद्यार्थीको शैक्षिक कार्यक्रमअन्तर्गतका विभिन्न अध्ययन अनुगमनकार्य गर्न कठिन भएको उनले बताएका थिए ।
निरीक्षणपश्चात् मुख्यमन्त्री लामाले शैक्षिक संस्थाबीचको जग्गा स्वामित्व विवाद लम्ब्याउन नहुने बताएका थिए । शैक्षिक गुणस्तर कायम गर्न देखिएका समस्या र चुनौतीहरु छलफलबाट समाधान गर्नुपर्ने उनले बताए । यो विषय संघीय सरकारअन्तर्गतको रहेकाले सोबारे आवश्यक पहल गर्नेसमेत आश्वासन दिए । मुख्यमन्त्री लामाले शिक्षा विकास र समृद्धिको मेरुदण्ड रहेकाले राज्यले आफ्नो लगानी त्यसतर्फ केन्द्रित गर्नुपर्ने बताए ।
प्राविधिक शिक्षा अहिलेको आवश्यकता रहेकाले शैक्षिक संस्थाहरुले त्यसतर्फ केन्द्रित हुनुपर्ने समय आएको उनको भनाइ छ । वर्तमान शिक्षाको मोडललाई व्यावहारिक र व्यावसायिक बनाउन प्राविधिक शिक्षामा जोड दिन जरुरी रहेको उनले औँल्याए । क्याम्पसभित्रको वनजंगल र जीवजन्तुलाई संरक्षण गरेर पर्टयकीय क्षेत्रको रुपमा अघि बढाउनुपर्ने उनको भनाइ छ । सरकारको लगानीलाई उत्पादनमूलक क्षेत्रमा केन्द्रित गरी राजस्व संकलनका विभिन्न क्षेत्रहरु तयार गर्ने गरी क्याम्पसलाई अघि बढाउनुपर्ने उनले बताए । क्याम्पसको क्षमता तथा व्यवस्थापनका विषयमा आवश्यक सहयोग तथा पहल गर्ने मुख्यमन्त्री लामाले प्रतिबद्धता गरे ।







