पूर्वराजालाई काठमाडौं महानगरले तोक्यो ७ लाख ९३ हजार जरिवाना

हेटौंडा- काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई सात लाख ९३ हजार रुपैयाँ जरीवाना तोकेको छ । शुक्रबार तीनकुने क्षेत्रको प्रदर्शनमा तोडफोड र फोहोर गरेवापत महानगरले आठ वटा शीर्षकमा सात लाख ९३ हजार रुपैयाँ जरीवाना तोकेको हो । ज्ञानेन्द्र शाह, निर्मल निवास काठमाडौंका नाममा महानगरका आठजना नगर प्रहरीले आठवटा बेग्लाबेल्लै पत्र काटेका हुन् । दुर्गा प्रसाईंको आह्वानमा राजसंस्था पुनस्र्थापनाका लागि भन्दै तीनकुने क्षेत्रमा प्रदर्शन भएको थियो । प्रसाईंले आह्वान गरेको प्रदर्शनलाई नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनस्र्थापना संयुक्त जनआन्दोलन समिति, राप्रपा र राप्रपा नेपालले पनि समर्थन जनाएका थिए ।
यसअघि फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आउँदा त्रिभुवन विमानस्थलदेखि स्वागत र प्रदर्शनका क्रममा फोहोर र महानगरका संरचनामा क्षति पु¥याएकोमा महानगरले राप्रपालाई एक लाख रुपैयाँ जरीवाना तोकेको थियो । सांसद ज्ञानेन्द्र शाहीले महानगरमा पुगेर जरिवाना तिरेका थिए । त्यसअघि महानगरले दरबारमार्गमा कार्यक्रम गरेको नेकपा (एमाले)लाई पनि एक लाख रुपैयाँ जरिवाना तोकेको थियो ।
कमल थापाले जनाए आपत्ति
पूर्वराजा ज्ञानेन्द्र शाहलाई आर्थिक जरिवाना गरेको विषयलाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले हास्यास्पद भनेका छन् ।काठमाडौं महानगरपालिकाले पूर्वराजा शाहलाई विभिन्न शीर्षकमा सात लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको समाचार सार्वजनिक भएसँगै थापाले सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया जनाएका हुन् । ‘तीनकुनेमा चैत १५ गते भएको कार्यक्रमलाई लिएर राजा ज्ञानेन्द्रलाई जरिवाना गर्ने काठमाडौं महानगरपालिकाको निर्णय हास्यास्पद छ । ‘गलत ठेगानामा पठाइएको पत्र’ ‘स्टन्ट’ जस्तो भयो,’ अध्यक्ष थापाले भनेका छन् ।उनले काठमाडौं महानगरप्रमुख बालेन साहबाट त्रुटि भएको भन्दै यसबाट आफू अलमलमा परेको जनाएका छन् । ‘संयुक्त जनआन्दोलन समिति र नागरिक बचाउ अभियानले जिल्ला प्रशासनसँग स्वीकृति लिएर कार्यक्रम गरेकोरेकर्ड हेर्न महानगरलाई आग्रह छ,’ थापाले लेखेका छन्, ‘पत्रको भाषा पनि अशिष्ट र अमर्यादित छ ।
राजाको कुरा छोडिदिउँ, उहाँ पूर्वराष्ट्राध्यक्ष पनि हुन्छ भन्ने महानगरपालिकाले हेक्का राख्नु पर्ने थियो ।’ थापाले आर्थिक जरिवानाको पत्र फिर्ता लिनु बुद्धिमानी हुने भन्दै बालेनलाई सुझाव दिएका छन् ।महानगरले शुक्रबार तीनकुनेमा भएको प्रदर्शनले विभिन्न किसिमका क्षति पु¥याएको भन्दै विभिन्न ९ वटा शीर्षकमा गरेर जरिवाना तोकेको हो । शुक्रबारको प्रदर्शनलाई थापा नेतृत्वको राप्रपा नेपालले पनि समर्थन जनाएकोथियो । बिहीबार साँझ विज्ञप्ति निकाली प्रदर्शनमा सक्रिय सहभागी हुन आफ्नो पार्टीका समर्थकलाई आह्वान गरेका थिए ।
उच्चन्यायिक छानबीन समिति गठन गर्न रास्वपाको मागराष्ट्रिय स्वतन्त्र पार्टी
(रास्वपा) ले चैत १५ गते तीनकुने क्षेत्रमा घटेको घटनामा संलग्नमाथि कारबाही सुनिश्चित गर्न उच्चन्यायिक छानबीन समिति गठनको माग गरेको छ । दुर्गा प्रसाईं नेतृत्वमा राजसंस्था पुनस्र्थापनाका लागि शुक्रबार तीनकुने–कोटेश्वर क्षेत्रमा प्रदर्शन, तोडफोड, आगजनी र लुटपाट भएको थियो । रास्वपाको शनिबार बिहान ११ बजे बसेको केन्द्रीय सचिवालय (भर्चुअल) बैठकले काठमाडौंको तीनकुने, कोटेश्वर र जडीबुटीक्षेत्रमा चैत्र १५ गतेको घटनामा संलग्न दोषीलाई कानूनी दायराभित्र ल्याई यथोचित कारबाही सुनिश्चित गर्न उच्चन्यायिक छानबीन आयोग गठन गर्न सरकारसँग माग गर्ने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । साथै पार्टीको केन्द्रीय समिति बैठक चैत १८ गते केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने निर्णय भएको उनले बताए ।
‘अरेष्ट ज्ञानेन्द्र अभियान’ चल्यो
पूर्वराजा ज्ञानेन्द्र शाहलाई पक्राउ गर्न माग गर्दै सामाजिक सञ्जालमा ह्यासट्याग अरेष्ट ज्ञानेन्द्र अभियान चलेकोछ । शनिबारदेखि सामाजिक सञ्जालमा पूर्वराजा शाहबारे पोस्ट राख्दै प्रयोगकर्ताहरुले पक्राउ गर्न माग गरेका हुन् ।तीनकुनेमा शुक्रबार भएको राजावादी प्रदर्शन हिंसात्मक बन्दा दुइजनाले ज्यान गुमाएकाथिए । सयौं घाइते भएका थिए भने सर्वसाधारणका घर, व्यापारिक प्रतिष्ठान, सञ्चारमाध्यम, राजनीतिक पार्टीका कार्यालय तथा सरकारी र निजी दर्जनौं सवारीसाधनमा तोडफोड र आगजनी भएको थियो। प्रदर्शनको नाममा हिंसा मच्चाएपछि आन्दोलनका मुख्य डिजाइनर भन्दै पूर्वराजा ज्ञानेन्द्रलाई पक्राउ गर्न सर्वसाधारणले अरेष्ट ज्ञानेन्द्र अभियानमार्फत् सरकारलाई दबाब दिएका हुन् ।
उनीहरुले ज्ञानेन्द्रलाई यो अपराधबाट उन्मुक्ति नदिन सरकारसँग अपिल गरेका छन् । प्रदर्शनलाई हिंसात्मक बनाउन भिडलाई उक्साएको तथा तोडफोड र आगजनीमा संलग्न रहेको भन्दै प्रहरीले अहिलेसम्म एक सयभन्दा बढीलाई नियन्त्रणमा लिइसकेको छ । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवल शमशेर राणालगायत पक्राउ परिसकेका छन् । आन्दोलनको कमान्डर भनिएका दुर्गा प्रसाईंलाई शुक्रबारदेखि नै प्रहरीले खोजी गरिरहेको छ । प्रसाईं शुक्रबारदेखि फरार छन् ।
ज्यान गुमाएकालाई शहीद घोषणा गर्न माग
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शुक्रबार तीनकुनेको घटनामा ज्यान गुमाएका दुई जनालाई शहीद घोषणा गर्न माग गरेको छ ।शनिबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले शहीद घोषणा गर्नुपर्ने बताएका हुन् । ‘हिजोको घटनामा ज्यान गुमाएका दुवै जनालाई शहिद घोषणा गर्न सरकारसँग माग गरेका छौं,’ लिङ्देनले भने । शुक्रबारको घटनामा कीर्तिपुर निवासी २९ वर्षीय सविन महर्जन र एभिन्युज टेलिभिजनका फोटोपत्रकार सुरेश रजकको मृत्यु भएको थियो ।