थाहाका विद्यार्थीलाई करियर काउन्सिलिङ
हेटौंडा- माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर बसेका विद्यार्थीलाई थाहा नगरपालिकाले करियर काउन्सिलिङ गरेको छ ।थाहा नगरपालिकाको महिला, बालबालिका, जेष्ठनागरिक तथा अपा· परिचयपत्र शाखाद्वारा आयोजित नगरपालिकाभित्रका एसईई दिएर बसेका विद्यार्थी र शिक्षकलाई दिएको करियर काउन्सिलिङ चैत्र १७ गते सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन गर्दै थाहा नगरपालिका प्रमुख प्रशासकीयअधिकृत सुरेन्द्र प्रधानले विद्यार्थीलाई अहिलेदेखि नै मेहनत गरे जीवनमा सक्षम र सफल हुन सकिने भन्दै आफूलाई चिन्न आग्रह गरेका छन् ।
पारिवारिक दवाब भन्दा पनि आफ्नो क्षमता र इच्छाअनुसारको विषय छनोट गर्न पनि उनले सुझाव दिएका छन् । कार्यक्रममा थाहा नगरपालिका शिक्षा संयोजक राजनभक्त श्रेष्ठले शिक्षक र अभिभावकबीचको सहकार्य र समन्वयले नै विद्यार्थीलाई सधैं ऊर्जावान् र सक्रिय बनाउने बिचार राख्दै विद्यार्थीका लागि अभिभावकको भूमिका अतुलनीय हुने कुरामा जोड दिए ।कार्यक्रममा एसईई दिएर बसेका थाहाका १६ वटा संस्थागत तथा सामुदायिक विद्यालयका २ सय विद्यार्थीलाई मोटिभेसनल स्पिकर विश्वरमण न्यौपानेले जीवनउपयोगी शिक्षा, आगामी दिनको तयारी र परीक्षा नतिजालाई कसरी लिने भन्ने विषयमा व्यवहारिक ज्ञान प्रदानगरेका थिए । पालुङ जेसीजको सभाहलमा आयोजित कार्यक्रमले विद्यार्थीको मनोबल बढाउने आशा लिएको महिला, बालबालिका शाखाप्रमुख प्रतिमा मोक्तानले जानकारी दिइन् ।
महिला तथा बालबालिका समिति संयोजक अनिता बलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा थाहा नगरपालिका शिक्षा शाखाप्रमुख माधवबिक्रम मल्ल, शिक्षक महासंघ थाहाका अध्यक्ष राजाराम कार्की, प्याव्सन थाहा नगरअध्यक्ष सुरेन्द्रमान प्रधान, ईलाका प्रहरी कार्यालय पालुङका प्रमुख सविनबाबू अर्याल, जनकल्याण माध्यमिक विद्यालयका प्रधानाध्यापक सानोभाइ कार्कीलगायत शिक्षक, विद्यार्थीको उपस्थिति रहेको थियो ।







