कारवाहीको माग गर्दै मुख्यमन्त्री र प्रजिअलाई ज्ञापनपत्र
हेटौंडा-नेपाल पत्रकार महासंघ बागमती प्रदेश समिति र जिल्ला शाखा मकवानपुरले पत्रकार हत्यामा संलग्नलाई कारवाही गर्न माग गरेको छ । सोमबार बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा र मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठलाई भेटी मकवानपुरका पत्रकारले ध्यानाकर्षणपत्र बुझाउँदै दोषीलाई कारबाहीको माग गरेका हुन् । मुख्यमन्त्री लामालाई ध्यानाकर्षणपत्र बुझाउँदै प्रदेशका उपाध्यक्ष हरि हुमागाईँले राजावादीको प्रदर्शन उग्र बन्दा समाचार संकलनका क्रममा पत्रकारको हत्या र आमसञ्चारमाध्यममा आक्रमण हुनु दुःखद भएको बताए । उनले शुक्रवारको घटनामा एभिन्युजका पत्रकार सुरेश रजकको मृत्यु नभई हत्या भएको दाबी गरे ।
पत्रकार हत्या, कुटपिट र सञ्चारगृहमा भएको आगजनी तथा तोडफोडका घटनामा संलग्न जो कोहीलाई तत्काल पक्राउ गरी दोषीलाई कडा भन्दा कडा कारबाही र पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्न माग गरे । यस्तै मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारीले राजनीतिक मुद्दाका आडमा पत्रकार र सञ्चारमाध्यममाथिको आक्रमण नियोजित रुपमा भएको र यस्तो निन्दनीय कार्यको पत्रकार महासंघ मकवानपुरले घोर भत्र्सना गर्ने बताए । उनले नागरिक समाजको अग्रणी संस्थाको रुपमा रहेको पत्रकार महासंघ राजनीतिक रंगमा हुने अवाञ्छित र अराजक गतिविधि सदैव विरोधमा रहेको उल्लेख गर्दै दोषीउपर कडा कारबाहीको माग गरे ।
ध्यानाकर्षणपत्र बुझ्दै मुख्यमन्त्री लामाले आमसञ्चार क्षेत्र र प्रदेश सरकार दुवै लोकतन्त्रको अभिन्न अंग हुनुका साथै एकअर्काको परिपूरक भएकाले राजावादीको नाममा सञ्चारक्षेत्रमा भएको आक्रमणको विरोध गर्ने बताए । उनले प्रदेश सरकारकातर्फबाट आफूले पत्रकार र सञ्चारगृहका सुरक्षाको लागि खेल्नुपर्ने भूमिकाको लागि सदैव तत्पर रहेको स्पष्ट पारे ।यस्तै प्रमुख जिल्ला अधिकारी श्रेष्ठले आमसञ्चार क्षेत्रमाथि भएको आक्रमणबाट आफू दुःखित भएको उल्लेख गर्दै पत्रकारिता क्षेत्रको सुरक्षाको लागि आफू तयार रहेको र पत्रकारको माग माथिल्लो तहसम्म पु¥याउन प्रतिबद्ध रहेको बताइन् । ध्यानाकर्षणपत्र बुझाउने कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेशका पूर्वअध्यक्ष प्रताप विष्ट, पत्रकार महासंघ मकवानपुरका पूर्वअध्यक्ष राममणि दाहाललगायत विभिन्न पत्रकार संगठनका प्रमुख एवम् प्रतिनिधि तथा जिल्लामा क्रियाशील पत्रकारको उपस्थिति रहेको थियो ।







