१५ वटा गाई सहितको ट्रक नियन्त्रणमा
हेटौंडा- गोरुसहितको ट्रक नियन्त्रणमा लिएको एक महिना नबित्दै जिल्ला पशुसेवा कार्यालय मकवानपुरले पुनः १५ वटा गाई सहितको मिनिट्रक नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी वल १४ नम्बर गण हेडक्वार्टर मकवानपुरबाट खटिएको प्रहरी टोलीको सहयोगमा बिहीबार बिहान हेटौंडाबाट पथलैया जाँदै गरेको प्र–२–०३–००१ ख ३७५९ नम्बरको मिनिट्रक हेटोैंडा–१५ रातोमाटेबाट नियन्त्रणमा लिइएको पशुसेवा कार्यालयका प्रमुख डा. ब्रजकिशोर ठाकुरले जानकारी दिएका छन् । सशस्त्र प्रहरीको टोलीले आवश्यक अनुसन्धानका लागि ट्रकचालक, सहचालक र गाई चरुवालाई नियन्त्रणमा लिएर नेपाल प्रहरीलाई बुझाएको छ ।
पक्राउ पर्नेहरुमा राक्सिराङ गाउँपालिकाका अभिशेक सुनुवार, रत्ननगर चितवनका सागर तामाङ र नीजगढ बाराका अमरबहादुर अधिकारी रहेका छन् । निलम्बनमा परेका पशु प्राविधिकबाट नै प्रमाणपत्र जारी गरेको देखिएकाले स्वतः अवैध हुने प्रमुख डा. ठाकुरले बताए । भेटेनरी प्रमाणपत्रमा गत फागुन २१ गते नेपाल पशुचिकित्सा परिषद्द्वारा दुई महिनाका लागि निलम्बनमा परेका पशुचिकित्सक डाक्टर टीकाराम न्यौपानेको हस्ताक्षर रहेको पाइएको छ । नियन्त्रणमा लिएको गाई हेटौंडा–१६ स्थित लक्ष्मी चौपाय सप्लायर्सका भीम राईको रहेको भेटेनरी प्रमाणपत्रमा उल्लेख छ ।







