बागमती प्रदेशसभाको सचिवमा रामकुमार पौडेल

हेटौंडा- बागमती प्रदेशसभाको सचिवमा रामकुमार पौडेल नियुक्त भएका छन् । बुधबार प्रदेशप्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाको सचिवमा पौडेललाई नियुक्त गरेका हुन् ।प्रदेशसभाका सभामुख भुवनकुमार पाठकको सिफारिसमा प्रदेशप्रमुख देवकोटाले नेपालको संविधानको धारा १९५ को उपधारा (१) अनुसार पौडेललाई सभाको सचिवमा नियुक्त गरेका हुन् । महालक्ष्मी नगरापालीका–९ लामाटार स्थायी ठेगाना भएका पौडेल नेपाल सरकारका सहसचिव हुन् । प्रतिनिधि सभा सचिवालयमा सहसचिव पदमा कार्यरत पौडेलले प्रदेशसभाको सचिवमा नियुक्त हुनका लागि गत चैत १७ गते पदबाट राजिनामा दिएका थिए ।
घरायसी कारणले राजीनामा दिएको उल्लेख गरेका उनको चैत १७ मा नै राजीनामा स्वीकृत भएको बताइएको छ ।संघीय संसदमा १७ वर्ष सेवा गरेका उनलाई प्रदेशसभाको ५ वर्ष अवधिका लागि नियुक्त गरिएको हो । नियुक्तिसँगै सचिव पौडेलले बुधबार नै पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । सभामुख पाठकले नवनियुक्त सचिव पौडेललाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् । सचिव पौडेलले बुधबार नै पदभार ग्रहण गरेका छन् ।