सांस्कृतिक र आर्थिकरुपान्तरणमा सहकरीको ठूलो योगदानः प्रदेशप्रमुख

साझाकुरा
२०८१ चैत्र २०, बिहीबार ११:२३

हेटौंडा-बागमती प्रदेशप्रमुख दीपकप्रसाद देवकोटाले सहकारी क्षेत्रको सामाजिक, सांस्कृतिक र आर्थिक रुपान्तरणमा ठूलो योगदान रहेको बताएका छन् ।६८ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रदेशप्रमुख देवकोटाले निम्न आय भएका किसान, श्रमिक र मजदुरको समुदायभित्रकै पूँजी परिचालनमा सहकारीको ठूलो भूमिका रहेको बताएका छन् । आर्थिक संकट टार्ने, उद्यमशीलता विकास गर्ने र बचतको संस्कृति मार्फत् आर्थिक उपार्जनमा मद्दत गर्ने सहकारी क्षेत्रको अभियान प्रशंसनीय रहेको प्रदेशप्रमुख देवकोटाले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

‘नेपालको संविधानले सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता तथा विकासमार्फत् समृद्ध अर्थतन्त्रको परिकल्पना गरेको छ’ उनले भने । प्रदेशप्रमुख देवकोटाले सहकारीको विकास र विस्तार समृद्धिको महत्वपूर्ण पाटो हुनसक्ने कुरामा जोड दिएका छन् । बचतकर्ताहरुको रकम हिनामिना गरी आर्थिक अपराध गर्ने र सम्पूर्ण सहकारी क्षेत्रलाई बदनाम गराउने क्रियाकलापहरु भएको सन्दर्भमा सहकारीकर्मीहरु सचेत र गम्भीर भई गलत प्रवृत्तिको पुनरावृत्ति हुन नदिन पहल गर्नुपर्ने समेत उनले बताएका छन् ।

सम्बन्धित निकायले बचतकर्ताको बचत सुरक्षणमा कुनै कसर बाँकी राख्न नहुनेमा उनले जोड दिएका छन् । प्रदेशप्रमुख देवकोटाले सहकारी संस्थाहरु पारदर्शिता, उत्तरदायित्व र सुशासनका आधारमा मर्यादित तथा अनुशासित रुपमा सञ्चालन गरिनुपर्ने बताएका छन् । सहकारी दिवसले सहकारीको गरिमालाई उच्च राख्न सबैलाई प्रेरणा दिने उनले सन्देशमा उल्लेख गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*