महिला सांसद्को गुनासोः मिडियाले समाचार सम्प्रेषणमा विभेद गरेको छ

साझाकुरा
२०८१ चैत्र २१, शुक्रबार ०८:५५

हेटौंडा- बागमती प्रदेशका महिला सांसदले सदनमा उठाएका विषयले मिडियामा कम प्राथमिकता पाउने गरेको गुनासो गरेका छन् । बिहिबार हेटौंडामा आयोजित ‘महिला प्रदेशसभा सदस्यसँगको अन्तरक्रियात्मक’ कार्यक्रममा सञ्चारमाध्यमले महिलाले संसदमा उठाएका मुद्दालाई गौण बनाउने गरेको सांसदहरुले बताएका हुन् । मिडियाले नै समाचार सम्प्रेषणमा विभेद गर्ने गरेको उनीहरुले आरोप लगाएका छन् । पुरुष सांसदले उठाएका विषयलाई मात्र बढी प्राथमिकता दिने तर, रोष्टममा नै उभिएर महिला सांसदले बोलेका विषय मिडियाको प्राथमिकतामा नपर्ने गरेको उनीहरुको गुनासो छ ।

बागमती प्रदेशसभा सदस्य भारती पाठकले संसदमा राजनीतिक क्षेत्रमा पहुँच भएका र बढी चर्चामा आएका पुरुष सासंदको कुरालाई मात्र प्राथमिकता दिने प्रवृत्तिले महिला सासंदले उठाएका महत्वपूर्ण एजेन्डा ओझेलमा पर्ने गरेको बताइन् । मिडियाको ध्यान पनि चर्चित पुरुष नेतामै केन्द्रित हुनु दुःखद रहेको बताउँदै सञ्चारमाध्यमका सूचना, समाचार समावेशी हुनुपर्नेमा उनको जोड थियो । सांसद् रुकु चौंलागाईले समानु्पातिक सांसदका एजेन्डालाई सम्बोधन नै नगर्ने परिपाटीप्रति असन्तुष्टि जनाइन् । नीति निर्माणमा प्रभावकारी भूमिका खेल्न सक्ने क्षमता भएका महिला सांसदको आवाजलाई सञ्चार माध्यमले नसमेट्दा भूमिका कमजोर देखिने गरेको महिला सांसदले जिकिर गरेका छन् ।

नेपाली कांग्रेसकी सांसद समिता खड्कीले संसदभित्र मात्रै नभएर बाहिरी व्यवहारमा पनि महिला सांसदलाई भेदभाव गर्ने गरेको महशुस हुने गरेको बताइन् । महिलालाई गरिने भेदभावपूर्ण व्यवहारले नेतृत्व निभाउनसमेत समस्या आईपर्ने गरेको उनले बताइन् । नेपाली काँग्रेसकी सासंद सुना परियारले आफूले सांसदमा उठाएका महत्वपूर्ण विषय सांसदमै सीमित रही ओझेलमा पर्ने गरेको गुनासो गरिन् । भावी दिनमा मिडिया र महिला सांसदबीचको समन्वय दरिलो हुनुपर्ने कुरामा उनले जोड दिइन् ।

कार्यक्रममा समानुपातिक सांसद बालकुमारी विश्वकर्माले दलित तथा उत्पीडित महिलाको आवाजलाई सञ्चारमाध्यममा ल्याउन आग्रह गरिन् । आफूले रोष्टममा पटकपटक दलित तथा उत्पीडन समूदायको आवाज पटकपटक उठाउँदा सञ्चारमाध्यममा नआएको गुनासो उनको थियो । कार्यक्रममा अन्य सांसदले पनि महिलाका आवाज, महिला मुद्दा र चुनौतीलाई समाजमा यथाशीघ्र दर्शाउन सञ्चारमाध्यम महच्वपूर्ण आधार रहेकाले यसमा समन्वयकारी भूमिकामा जोडिन आमसञ्चारमाध्यमलाई आग्रह गरेका छन् ।

प्रदेशसभाका उपसभामुख अप्सरा चापागाईंले सञ्चारमाध्यमले महिलाको संसदयात्रालाई अझ सशक्त र प्रभावकारी ढंगले अगाडि बढाउन सञ्चारमाध्यम पहरेदार हुनुपर्ने बताइन् । संसदीय पत्रकारिता लै·िक विभेदसँग बाझिन नहुने उनको भनाई छ । सञ्चारकर्मीले आफ्नो दायरा फराकिलो बनाउनुपर्ने उनले बताइन् । १ सय १० जना सांसद् रहेको बागमती प्रदेशसभामा ४० जना महिला सांसद रहेका छन् । जसमा प्रत्यक्ष निर्वाचित ५ जना र समानुपातिकमा ३५ जना छन् । जसमा दुईजना सचेतक, एकजना विषयगत समिति सभापति, एकजना उपसभामुख र दुईजना मन्त्रीको जिम्मेवारीमा रहेकाछन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*