डढेलो रोकथाम गर्न चेतनामूलक कार्यक्रम
हेटौंडा-चुच्चेखोला सामुदायिक बन उपभोक्ता समितिले वनमा लाग्ने डढेलो रोकथाम गर्न जनचेतना मूलक कार्यक्रम आयोजना गरेको छ । डिभिजन वन कार्यालय मकवानपुरले वनमा डढेलोबाट हुने क्षति र रोकथामका लागि कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रमको आयोजन हेटौंडा उपमहानगरपालिका–१७ र मकवानपुरगढी गाउँपालिका–२ स्थित समितिको वन क्षेत्रका विभिन्न स्थानमा गरिएको थियो । डिभिजन वन कार्यालय, मकवानपुरका डिभिजन वन अधिकृत राकेशप्रसाद चन्द्रवंशीको उपस्थितिमा आयोजित जनचेतना कार्यक्रममा वन डढेलो लाग्न सक्ने जोखिमलाई न्यूनीकरण गर्न सडक क्षेत्रको पत्कर संकलन गरेर नष्ट गरिएको हो ।
चन्द्रवंशीले वन डढेलोका कारण वातावरण प्रदूषण साथै वनमा आश्रित जीवहरुको क्षति बढ्दै गएको उल्लेख गर्दै कुनै पनि हालतमा वनमा आगो लाग्नबाट जोगाउनु पर्ने बताए । वन डढेलो रोक्नका लागि कुनै कसर बाँकी नराखेको जानकारी दिए । चुरोट र विंडीका ठुटा जथाभावी फाल्दा डढेलो लाग्न सक्ने भएकाले सडकक्षेत्रको पत्कर संकलन गरेर नष्ट गरिएको चुच्चेखोला सामुदायिक बनका अध्यक्ष लक्ष्मण कटुवालले जानकारी दिए । उनले भने, ‘जनचेतना र डढेलो जोखिमक्षेत्र नष्ट गरी हामी चुच्चेखोला सामुदायिक वन जोगाउँछौं ।’
हेटौंडा–१७ सालकपार्क देखि मकवानपुरगढी–२ शिखरकेटी हुँदै भालुन्टारसम्मको सडकक्षेत्रको पत्कर संकलन गरेर नष्ट गरिएको वनका सचिव केदारप्रसाद घिमिरेले बताए । उनले भने, ‘बाटो सफा गरौँ, सुरक्षित तरिकाले ढडाउँ, ताकि पुनः डढेलो नलागोस् ।’ बिगत वर्षहरुमा डढेलोबाट चुच्चेखोला वन जोगिन सकेको थिएन । डढेलोले वनमा रहेका मृग, सालक लगायत बन्यजन्तु र चराचुरु·ीको बासस्थान नष्ट भएको थियो । यसैको ध्यानमा राख्दै, यसपटक वनमा डढेलो नलागोस् भन्ने उद्देश्यले छिमेकी वनसँग सहकार्य गरेर संयुक्त प्रयास गरिएको उपाध्यक्ष उमेश अधिकारीले बताए । उनले थपे, ‘वनमा आगो लागेको खण्डमा नियन्त्रणका लागि जनशक्ति तयारी अवस्थामा रहेका छन् ।’ कार्यक्रममा करिब ५० घरका उपभोक्ता, डिभिजन वनका प्राविधिक, स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको थियो ।







