मकवानपुरको १० पालिकामा १ अर्ब २३ करोड राजश्व बाँडफाँड अनुदान : समानिकरण अनुदान २ स्थानीय तहको घट्दा ५ को समपुरक बढ्ने

साझाकुरा
२०८१ चैत्र २६, बुधबार ११:२१

हेटौंडा- मकवानपुरका १० पालिकाले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि संघीय सरकार मार्फत् १ अर्ब २३ करोड २२ लाख रुपैयाँ राजश्व बाँडफाँडबाट अनुदान पाउने भएका हुन् ।चैत्र १८ गते बसेको मन्त्रिपरिषद् बैठकले २०८२÷८३ देखि २०८६÷८७ सम्मका लागि प्रदेश तथा स्थानीय तहलाई उपलब्ध गराउने राजस्व बाँडफाँडको विस्तृत आधार र ढाँचा स्वीकृत गरेको हो । मकवानपुरको १० पालिका मध्ये सबैभन्दा बढी हेटौंडा उपमहानगरले २२ करोड ८५ लाख र सबैभन्दा कम ईन्द्रसरोवर गाउँपालिकाले ६ करोड ७५ लाख पाउने भएको छ । थाहा नगरपालिकाले १० करोड ७० लाख, कैलाश गाउँपालिकाले ९करोड ६७ लाख, राक्सिराङ गाउँपालिकाले १० करोड ६१ लाख, मनहरी गाउँपालिकाले १३ करोड ७६ लाख रुपैयाँ पाउने योजना शाखाप्रमुख प्रकाश न्यौपानेले जानकारी दिए ।
भीमफेदी गाउँपालिकाले ९ करोड ८९ लाख, बकैया गाउँपालिकाले १५ करोड ५५ लाख र बागमती गाउँपालिकाले राजश्व बाँडफाँडमार्फत् १४ करोड ६ लाख रुपैयाँ बजेट पाउने भएका छन् ।

मकवानपुरगढी गाउँपालिकाले ९ करोड ३८ लाख रुपैयाँ पाउने भएको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले उल्लेख गरेको छ । आगामी आर्थिक वर्षमा प्रदेश र स्थानीय तह दुवैमा समान ७८ अर्ब ८ करोड ५० लाख रुपैयाँ बाँडफाँट हुनेछ । जुन १ खर्ब ५६ अर्ब रुपैयाँ हुन आउँछ । संघीय सरकारले उठाउने राजस्वमध्ये आन्तरिक उत्पादनमा लाग्ने मूल्यअभिवृद्धि कर (भ्याट) र अन्तःशुल्कबाट उठेको रकम बाँडफाँट गरिन्छ । यसको ७० प्रतिशत हिस्सा संघले राख्छ । बाँकी ३० प्रतिशत भने प्रदेश र स्थानीय तहमा १५÷१५ प्रतिशतका दरले बाँडफाँट गरिन्छ । सवारीसाधन कर प्रदेशले उठाउने गर्छ ।

समानिकरण अनुदान २ वटा स्थानीय तहको घट्यो

आगामी आर्थिक वर्ष २०८२÷८३ मा मकवानपुरका १० स्थानीय तहले १ अर्ब २७ करोड ११ लाख रुपैयाँ वित्तीय समानीकरण अनुदान पाउने भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले २८ फागुनमा नेपाल सरकारलाई गरिएको सिफारिस अनुसार दशमध्ये दुईवटा स्थानीय तहको समानीकरण अनुदान चालु आर्थिक वर्षको तुलनामा आगामि आर्थिक वर्षका लागि घट्ने भएको छ ।

चालु आर्थिक वर्षमा ७ करोड २६ लाख समानीकरण अनुदान पाएको ईन्द्रसरोवर गाउँपालिकाले १५ लाख घटेर आगामी आर्थिक वर्ष ७ करोड ११ लाख रुपैयाँ पाउने भएको छ । त्यसैगरी चालु आर्थिक वर्षमा २९ करोड ९८ लाख समानीकरण अनुदान पाएको हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षमा २९ करोड ७६ लाख पाउने भएको छ । अन्य ८ वटा पालिकाको समानीकरण अनुदान भने बढेको छ । मकवानपुरगढीले भने यसवर्षको भन्दा २५ लाख रुपैयाँ बढी रकम पाउने भएको छ । आगामी आर्थिक वर्षमा मकवानपुरगढीले १० करोड ७ लाख रुपैयाँ पाउनेछ । थाहा नगरपालिकाले १२ करोड ३९ लाख, भीमफेदीले १० करोड ५२ लाख, बकैयाले चालु आर्थिक वर्षको अनुदान भन्दा १ करोड ४ लाख थप्दै १२ करोड ९५ लाख, बागमतीले ११ करोड ७० लाख, मनहरीले १२ करोड ५३ लाख, कैलाश गाउँपालिकाले ९ करोड ८३ लाख र राक्सिराङले १० करोड २५ लाख अनुदान पाउने आयोगको सिफारिसमा उल्लेख गरिएको छ ।

यसैगरी, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय तहको पनि कार्यसम्पादक मूल्यांकन गरेकोमा मकवानपुर जिल्लामा मकवानपुरगढीले तेस्रो स्थान लिएको छ । मकवानपुरगढी गाउँपालिकाले ६७ अंक ल्याएर जिल्लाका १० वटा पालिकामध्ये तेस्रो स्थान पाएको हो ।

५ वटा पालिकाको समपुरक बजेट बढ्ने

बागमती प्रदेश सरकारले समपुरक अनुदानको लागि स्थानीय सरकारलाई ७ वर्गमा वर्गीकरण गरेको छ । प्रदेश सरकारले जारी गरेको प्रदेश समपुरक अनुदान सम्बन्धी कार्यविधि २०८१ म स्थानीय सरकारलाई वर्गीकरण गरेको हो । पालिकालाई ७ वर्गमा वर्गीकरण गरी त्यसैको आधारमा२० देखि ८० प्रतिशतसम्म प्रदेशबाट समपुरक अनुदान वितरण गरिने आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।वर्गीकरण अनुसार मकवानपुरको १० स्थानीय तहमध्ये ५ वटा पालिकाको समपुरक बजेट बढ्ने , ३ वटा पालिकाको घट्ने र २ वटा पालिकाको साविककै रहने उल्लेख गरिएको छ । नयाँ कार्यविधि अनुसार कैलाश र राक्सीराङ गाउँपालिका ‘ख’ वर्गमा परेको छ । ती दुईपालिकाले प्रदेश सरकारबाट ७० प्रतिशत समपुरक अनुदान पाउने छन् । ईन्द्रशरोबर, भीमफेदी र बागमती गाउँपालिका ‘ग’ वर्गमा परेको छ । यि पालिकाले प्रदेश सरकारबाट ६० प्रतिशत समपुरक अनुदान पाउने छन् ।

यस्तै ‘घ’ वर्गमा परेको बकैया र मकवानपुरगढी गाउँपालिकाले साविकको झै प्रदेश सरकारबाट ५० प्रतिशत अनुदान पाउने भएका छन् ।त्यस्तै, नयाँ कार्यविधि अनुसार ‘ङ’ वर्गमा परेको मनहरी र थाहाले ४० प्रतिशत अनुदान पाउने छन् । हेटौंडा उपमहानगरपालिका भने ‘छ’ वर्गमा परेको छ । हेटौंडाले प्रदेश सरकारबाट स्वीकृत समपुरक अनुदानबाट सञ्चालन हुने आयोजनाको लागि २० प्रतिशत पाउने अनुदान पाउने नयाँ कार्यविधिमा उल्लेख गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*