वन डँढेलोका घटनामा संलग्नलाई कारवाहीको दायरामा ल्याइने

साझाकुरा
२०८१ चैत्र २६, बुधबार ११:३२

हेटौंडा-बागमती प्रदेश सरकारले वन डँढेलोका घटनामा संलग्नलाई कारवाहीको दायरामा ल्याउने भएको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेको अध्यक्षतामा बसेको विपद् व्यवस्थापन कार्यकारी परिषद्को बैठकले डँढेलो लगाउने कार्यमा संलग्न जोसुकैलाई पहिचान गरी प्रचलित कानून बमोजिम कारवाही गर्ने निर्णय गरेको हो । बैठकले वायुप्रदुषण एवम् वन डँढेलो नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय, स्थानीय तहहरु, सुरक्षा निकाय, वन कार्यालयहरु, सामुदायिक वन समूहलगायत सरोकारवाला परिचालन गरी प्रभावकारी बनाउने निर्णय पनि गरेको छ ।

बैठकले दोलखाबाट माग भएको निजीआवास पुनःनिर्माणका लागि लागत साझेदारीवापतको रकम उपलब्ध गराउने निर्णय गरेको मन्त्री लामिछानेले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय, दोलखाबाट माग भए बमोजिम विपद् प्रभावित निजीआवास प्रवलीकरण, पुनःनिर्माण तथा पुनःस्थापना अनुदान कार्यविधि, २०८१ बमोजिम प्रदेश सरकारले उपलब्ध गराउनुपर्ने ३० प्रतिशत लागत साझेदारी वापतको रकम प्रदेश विपद् व्यवस्थापन कोष परिचालन कार्यविधि, २०८० को दफा ३ को खण्ड (घ) अनुसार जिल्लाको विपद् व्यवस्थापन कोषमा पठाउने निर्णय गरेको मन्त्री लामिछानेले बताए ।

दोलखा जिल्लाको तामाकोशी गाउँपालिकामा मनसुनजन्य विपद् प्रभावित ६ लाभग्राहीलाई ३० प्रतिशत लागत साझेदारी व्यहोर्ने गरी प्रदेश विपद् व्यवस्थापन कोषबाट ८ लाख १० हजार रुपैयाँ आवास पुनःनिर्माणका लागि उपलब्ध गराउने निर्णय हो । बैठकले प्रदेशको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना, २०८० अद्यावधिक गर्न आन्तरिक मामिला तथा कानून मन्त्रालयले मस्यौदा तर्जुमा गरी कार्यकारी समितिमा पेश गर्ने निर्णय गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*