हेटौंडामा निःशुल्क बारिष्ता तालिम सुरु

साझाकुरा
२०८१ चैत्र २७, बिहीबार १३:२०

हेटौंडा-सामाजिक विकास केन्द्र हेटौंडाको आर्थिक सहयोग र हाम्रो प्रशिक्षण सेवा तालिम केन्द्रको आयोजनामा ३२ दिने निःशुल्क बारिष्ता (कफी बनाउने) तालिम आजबाट सुरु भएको छ । बिहीबार हेटौंडामा एक भव्य कार्यक्रमकाबीच तालिमको औपचारिक उद्घाटन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिका वडा नं. ४ का वडाअध्यक्ष नवीन सिग्देलले तालिमको महत्व, यसले व्यक्तिगत र सामाजिक जीवनमा पर्न सक्ने प्रभाव बारेमा आफ्नो धारणा व्यक्त गरे । यस्ता व्यावसायिक सीपले युवालाई आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेल्ने उनले बताए । हाम्रो प्रशिक्षण सेवा तालिम केन्द्रकी संयोजक मेनुका श्रेष्ठले तालिमका उद्देश्य स्पष्ट पार्दै सीप लिएपछि स्वदेशमै आफ्नो भविष्य खोज्न आग्रह गरिन् ।

तालिममा जिल्लाभरका ४० जना प्रशिक्षार्थीको सक्रिय सहभागिता रहेको छ । उनीहरुलाई सार्वजनिक सूचना आवाह्न गरी छनोट गरिएको जानकारी हाम्रो प्रशिक्षण सेवा तालिम केन्द्रका व्यवस्थापक किरण घलानले दिए । उनका अनुसार, तालिम ३२ दिनसम्म दुई सिफ्टमा १६० घण्टाको अवधिमा सञ्चालन हुनेछ । तालिममा प्रशिक्षार्थीलाई सैद्धान्तिक र व्यवहारिक विधिमा दैनिक ५ घण्टा तालिम दिइनेछ । यस तालिममा रमणकुमार यादव र ममता तामाङले प्रशिक्षण दिनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*