मदन भण्डारी प्रतिष्ठानको बोर्ड तोडफोडको आरोपमा ६ पक्राउ

साझाकुरा
२०८२ बैशाख ५, शुक्रबार १२:४०

हेटौंडा-मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालको बोर्ड तोडफोडको आरोपमा मकवानपुर प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ ।पक्राउ पर्नेमा सुनिल गिरी, सफल अधिकारी, विशालराज महत, अस्मित अधिकारी, समुन्द्र दाहाल र राजकुमार घिमिरे छन् । हेटौंडा अस्पतालको नाम हटाएर राजनीतिक पार्टीका नेताको नाम राखिएको भन्दै असन्तुष्ट युवाले ३० चैतमा प्रतिष्ठानको बोर्ड तोडफोड गरेका थिए । अस्पतालको छतमा चढेर उनीहरुले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मेटाएर हेटौंडा अस्पताल राखेका थिए ।

एमालेले आफ्ना नेताको नाम राखेर हेटौंडा अस्पतालको अस्तित्व मेट्न खोजेको भन्दै उनीहरुले आफूहरुको काममा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायतको समर्थन रहेको दावी गरेका थिए । पछि केही राजनीतिक दलले समर्थनको दावी झुठो भएको प्रतिक्रिया दिएका थिए । घटनापछि प्रतिष्ठानले प्रहरीमा निवेदन दिएपछि प्रहरीले उनीहरुको खोजी गरेको थियो । बिहीबार छलफलका लागि भन्दै जिल्ला प्रहरी कार्यालय बोलाएर उनीहरुलाई हिरासतमा लिएको हो ।

६ युवा पक्राउ परेपछि समथर्क युवाले पूर्वपश्चिम राजमार्ग अन्तर्गतको हेटौंडा उपमहानगरपालिका–१ मा पर्ने खण्डमा केहीबेर प्रदर्शन गरेका छन् । प्रदर्शनको क्रममा उनीहरुले पूर्वपश्चिम राजमार्गमा पर्ने मुख्य सडकखण्ड टायर बालेर अवरुद्ध पारेका थिए । प्रहरीले युवालाई हटाएर राजमार्ग खुलाएको थियो । उनीहरुलाई जिल्ला अदालत मकवानपुरबाट पाँच दिनको म्याद लिई अनुसन्धान समेत थालिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*