बनकरियासहित ४९ बालबालिकालाई विद्यालय पोशाक र स्टेशनरी

साझाकुरा
२०८२ बैशाख ७, आईतवार १२:२९

हेटौंडा- लोपोन्मुख जाति वनकरियासहित ४९ बालबालिकालाई विद्यालय पोशाक, जुत्ता, ब्याग र स्टेशनरी सामग्री वितरण गरिएको छ । कक्षा १ देखि ८ सम्म अध्ययनरत बालबालिकालाई मकवानपुरको मनहरी गाउँपालिका–४, मुसेधापमा शनिवार सामग्रीहरु वितरण गरिएको हो ।अमेरिकी सहयोगी संस्था मान्द्रेको आर्थिक सहयोगमा राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चले छात्रछात्रालाई शैक्षिक सामग्री वितरण गरेको हो । मनहरी गाउँपालिका–४ का वडाअध्यक्ष प्र्रकाश थापाले बनकरिया २२, चेपाङ २५ र तामाङ ४ गरी ४९ बालबालिकालाई विद्यालय पोशाक, जुत्ता, ब्याग र स्टेशनरी सामग्री वितरण गरेका थिए । कार्यक्रममै वनकरियासहित ५१ बालबालिकाको लागि कपी ५६ दर्जन, डट्पेन १५ पाकेट, पेन्सील ५ बक्स, सापनर १५ बक्स, ईरेजर १५ बक्स, रेकर्ड फाईल ५० वटा लगायत शैक्षिक सामग्री हस्तान्तरण गरिएको थियो ।

अमेरिकी सहयोगी संस्था मान्द्रेको आर्थिक सहयोगमा सन्तोषी परियोजना अन्तरगत १ बर्षका लागि ट्युसन कक्षा संचालन गर्न प्रदान गरिएको हो । परियोजना अन्तरगत सन् २०१५ देखि सन्तोषी बनकरियाले बनकरियासहितका बालबालिकालाई निःशुल्क ट्युसन अध्यापन गराउँदै आएकी छिन् । कार्यक्रममा राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चकी फिल्ड संयोजक सनिला लामा, कर्मचारी रुकमणि श्रेष्ठ, बंगलादेशी स्वयम्सेवक एलिजा बास्के र अप्सना अनि, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेशका लेखासंयोजक अशोकसुजन श्रेष्ठलगायतको आतिथ्यता रहेको थियो ।

यसैबीच, राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चको आयोजनामा शुक्रबार जलवायु परिवर्तनले आदिवासी महिला तथा किशोरीलाई पारेको असरबारे छलफल भएको छ । वनकरिया सहित स्थानीय महिला तथा किशोरीको सहभागिता रहेको कार्यक्रममा बंगलादेशी स्वयम्सेवक एलिजा बास्के र अप्सना अनिले सहजीकरण गरेका थिए । कार्यक्रममा कडाईको तालिम समेत दिइएको थियो । यसअघि राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चले दातृ निकायको सहयोगमा वनकरिया समुदायका लागि पुस्तकालयसँगै सावुन बनाउँने तालिम प्रदानगरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*