गर्मीयाममा शीतलता प्रदान गर्दै अधिकारीको ‘मोहीघर’

साझाकुरा
२०८२ बैशाख ७, आईतवार १२:५२

हेटौंडा-मकवानपुरको हेटौंडा–१९ नेवारपानीमा रहेको ‘मोहीघर’ ले गर्मीयाममा शीतलता प्रदान गर्दै आएको छ । यतिमात्र होइन, स्वास्थ्यका लागि निकै हानीकारक मानिने चिसो पेयपदार्थको बिकल्पमा स्वास्थ्यलाई फाइदा पुग्ने र पुँजी पलायन हुन नदिने काम पनि भएको छ ।नेवारपानीका युवा व्यवसायी प्रल्हाद अधिकारीले गर्मीमा प्यास लागेका यात्रुलाई शीतलता प्रदान गर्ने उद्देश्यसहित मोहीघर सञ्चालनमा ल्याएका हुन् । गमी बढेसँगै ‘मोहीघर’ पूर्वपश्चिम राजमार्ग हुँदै यात्रा गर्ने यात्रुका लागि आकर्षणको केन्द्र बनेको छ । गर्मीको समयमा चिसो पेयपदार्थको विकल्पका रुपमा मोही पिउनका लागि दैनिक सयौं यात्रुको भीड लाग्ने गरेको छ ।

अधिकारीले गत वर्षदेखि सञ्चालनमा ल्याएको मोहीघर शीतलता खोज्ने यात्रुको विकल्प बन्दै आएको छ । अधिकारीले दैनिक ३० देखि ४० लिटरसम्म मोही बिक्री गर्दै आएका छन् । सानो कटेज र फ्रिजमा लगानी गरेर व्यवसाय सुरु गरेका अधिकारीले सिजनमा दैनिक ५ हजार रुपैयाँसम्म आम्दानी गर्दै आइरहेका छन् । ‘केटजको लागि १ लाख, २ वटा फ्रिजको लागि १ लाख र २५ हजारको ठेकी गरी २ लाख २५ हजारको लगानीमा व्यवसाय सुरु गरिएको हो’ उनले भने । पूर्वपश्चिम राजमार्ग हुँदै यात्रा गर्नेहरु यहाँ पसेर मोही पिउँदै जान्छन्, जसले गर्दा मोहीघरमा सर्वसाधारणको भीड लाग्ने गरेको छ ।

साइजअनुसार प्रतिगिलास १५ र २० रुपैयाँमा मोही बिक्री हुने गरेको छ । अधिकारीले मोहीसँगै लस्सी र चिया पनि बेच्ने गरेका छन् । चिसो पेयपदार्थको विकल्पका रुपमा स्वादिलो मोही खान पाउँदा यात्रुहरु पनि खुशी छन् । मोहीघरमा अधिकारीका आमा बुबा र भाइले साथ दिँदै आएका छन् । पोटासियम, क्याल्सियम, प्रोटिन जस्ता तत्व हुने मोहीले पाचनप्रक्रियालाई राम्रो बनाउँनुका साथै शरीरलाई शीतलता प्रदान गर्ने गर्दछ ।

गर्मीमा चिसो पेयपदार्थ प्रयोग गर्नुको सट्टा मोही, दही खानु स्वास्थ्यको लागि समेत फाइदाजनक हुने स्वास्थ्यकर्मीको भनाई छ । औद्योगिक उत्पादनको रुपमा रहेका हल्का पेयपदार्थ उपभोग गर्दा त्यसले जनस्वास्थ्यमा असर गर्ने र ठूलो परिणाममा नेपाली पैसा विदेशिने गरेको छ । तर, मोहीको बजारीकरण ब्यवस्थित गर्न सकेको खण्डमा नेपालको पैसा विदेशिने चिन्ता पनि नहुने र स्वास्थ्यलाई असर पनि नगर्ने बिज्ञहरु बताउँछन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*