३३ हजार बढी बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

हेटौंडा-मकवानपुरमा शनिबार र आइतबार भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु गरिएको छ ।राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तरगत मकवानपुरमा ६ महिनादेखि ५ वर्ष उमेर समुहका बालबालिकालाई भिटामिन ‘ए’ तथा १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन सुरु गरिएको हो । जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार दुईदिने अभियानमा ३३ हजार ३ सय १० बालबालिकालाई भिटामिन ‘ए’ तथा २९ हजार ३ सय ९९ जना बालबालिकालाई जुकाको औषधि खुवाइने लक्ष्य लिइएको छ । यसको लागि जिल्लाभर ४ सय ७२ जना स्वयंसेविका परिचालन गरिएको जनस्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिएका छन् ।
सूचना अधिकारी घिमिरेको अनुसार मकवानपुरको १० पालिकामध्ये हेटौंडा उपमहानगरका १४ हजार ५ सय ८७ जना, थाहा नगरका २ हजार ६ सय ८३, ईन्द्रसरोवरमा ९ सय ४६, कैलाशमा १ हजार ४ सय ९८, राक्सिराङमा १ हजार ८ सय २५, मनहरीमा ३ हजार ५ सय ३९, भीमफेदीमा १ हजार ४ सय ७९, मकवानपुरगढीमा १ हजार ७ सय ६, बकैयामा २ हजार ९ सय ६ र बागमतीमा २ हजार १ सय ४१ बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने लक्ष्य लिइएको छ ।
त्यस्तै हेटौंडा उप महानगरका १२ हजार ८ सय ७३ जना, थाहा नगरका २ हजार ३ सय ६८, इन्द्रसरोवरका ८ सय ३५, कैलाशमा १ हजार ३ सय २२, राक्सिराङमा १ हजार ६ सय ११, मनहरीमा ३ हजार १ सय २५, भीमफेदीमा १ हजार ३ सय ६, मकवानपुरगढीमा १ हजार ५ सय ४, बकैयामा २ हजार ५ सय ६५ र बागमतीमा १ हजार ८ सय ९० जुकाको औषधि खुवाइने भएको छ ।
कार्यालयका अनुसार १० पालिकामध्ये सबैभन्दा धेरै हेटौंडा उपमहानगरमा १२ हजार ८ सय ७३ जनालाई जुकाको औषधि र १४ हजार ५ सय ८७ जनालाई भिटामिन ‘ए’ खुवाइने भएको छ । सबैभन्दा कम इन्द्रसरोवर गाउँपालिकामा ९ सय ४६ जना बालबालिकालाई भिटामिन ‘ए’ र ८ सय ३५ लाई जुकाको औषधि खुवाइने भएको हो ।हरेक वर्ष दुईचरणमा सरकारले देशैभरका उमेर लक्षित बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गरेको सूचना अधिकारी घिमिरेले बताए ।
यसअघि मकवानपुरमा कात्तिक २ र ३ गते पहिलोचरणमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइएको थियो । साथै घरनजिकैको खोपकेन्द्रमा गएर आफ्ना बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउनसमेत जनस्वास्थ्य कार्यालय मकवानपुरले अनुरोध गरेको छ ।