चट्याङ लागेर मकवानपुरमा हालसम्म ६ जना घाइते, १ जनाको मृत्यु

साझाकुरा
२०८२ बैशाख ८, सोमबार १०:१८

हेटौंडा-मकवानपुरमा चालु आवको ९ महिनाअवधिमा चट्याङ लागेर ६ जना घाइते हुँदा १ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार साउन महिनादेखि हालसम्म चट्याङ लागेर ६ जना घाइते र एक जनाको मृत्यु भएको छ ।अघिल्लो आर्थिक वर्षमा चट्याङकै कारण १ जनाको मृत्यु भएको थियो भने ५ जना घाइते भएका थिए । जिल्ला विपद् व्यवस्थापन समिति मकवानपुरका सूचना अधिकारी राजेन्द्रप्रसाद कँडेलका अनुसार नेपालमा धेरै चट्याङ पर्ने जिल्लामा मकवानपुर रहेको देखिएको छ । मकवानपुरमा प्राकृतिक प्रकोप चट्याङबाट सबैभन्दा धेरै मानवीय क्षति भएको देखिएको उनले बताए । दोस्रोमा भूकम्प र तेस्रोमा बाढीपहिरो रहेको पाइएको छ । विगत २४ वर्ष यता मकवानपुरमा विपद्मा परेर १ सय १६ जनाको मृत्यु भएको छ भने ८ सय ५० जना बेपत्ता तथा घाइते भएको पाइएको छ ।

चट्याङ पूर्वानुमान गर्न नसकिने विपद्को सूचीमा रहेको सूचना अधिकारी कँडेलले बताए । चट्याङ कहाँ कतिबेला पर्न सक्छ ? भन्ने पूर्वानुमान नहँुदा यसको रोकथाममासमस्या रहेको छ । ‘हामीले नागरिकलाई वर्षायाम सुरु भएपछि सचेतनामूलक सामग्री प्रशारण गरेर सचेत बनाउने प्रयत्न गरेका हुन्छौं । त्यो बाहेक यसकोरोकथाममा अन्य विकल्प छैन’उनले भने ।

सूचनाअधिकारी कँडेलका अनुसार मकवानपुरको पूर्वपश्चिम लोकमार्गअन्तरगत मनहरी गाउँपालिका–७ मनहरी बजार, सुनाचुरी र लोथर चट्याङको उच्चजोखिममा रहेको छ । त्यस्तै पूर्वपश्चिम लोकमार्ग हेटौंडा–२, हेटौंडा–१५ चुरियामाई र हेटौंडा–१९ नेवारपानी चट्याङको जोमिममा रहेको छ । कान्तिलोकपथ सडकखण्ड अन्तरगत बकैया गाउँपालिका –११ ठिंगन, त्रिभुवन राजपथ सडकखण्ड अन्तरगत थाहा नगरपालिका–६ दामन, सिस्नेरी सडकखण्ड अन्तरगत इन्द्रसरोवर गाउँपालिकाको ३, ४ र फाखेल सडकखण्ड उच्चजोखिममा रहेको छ ।

त्रिभुवन राजपथ सडकखण्ड अन्तरगत भीमफेदी गाउँपालिका–१ भैंसे पनि चट्याङको उच्चजोखिममा रहेको पाइएकोछ । चट्याङ न्यूनीकरणका लागि ठूला योजना निर्माण नभएतापनि चट्याङबाट प्रभावित पर्न सक्ने भौतिक संरचनाको समयमै व्यवस्थापन, पूर्वाधार निर्माणमा पूर्वयोजना, सचेतनामूलक सामग्री प्रसारणलगायतका कार्य जिल्ला विपद् व्यवस्थापन समितिले गर्ने गरेको सूचना अधिकारी कँडेलले बताए । विकासका दृष्टिकोणले सहरी क्षेत्रमा अर्थिङ जडान हुने हुँदा त्यहाँ चट्याङको जोखिम न्युन हुने र ग्रामीण क्षेत्रमा अर्थिङ जडानबिरलै हुने हुँदा ग्रामीणक्षेत्रमा चट्याङको जोखिम उच्च रहने बताइन्छ । जसको प्रत्यक्ष प्रभाव ग्रामीणभेगका बासिन्दा, किसान, ज्यालामजदुरी गर्ने मजदुरी गर्ने ब्यक्ति र खुल्ला छोडिएका पशुचौपायामा पर्ने गरेको छ ।

मकवानपुरमा सन् २००० देखि सन् २०२४ सम्ममा चट्याङका १ सय १६ घटना भएका छन् । घटनामा ३६ जनाको ज्यान गएको छ भने ३ सय ८१ जना घाइते भएका छन् । चट्याङबाट बितेको २४ वर्षमा १ सय ७९ घरपरिवार प्रभावित भएको छ । ५ घर पूर्णरुपमा क्षति भएको छ भने ३१ चौपायाको मृत्यु भएको छ ।यो बीचमा २१ लाख ५९ हजार रुपैयाँ बराबरको आर्थिक क्षति व्यहोर्नु परेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*