राक्सिराङमा स्वास्थ्य बीमाबाट उपचारसेवा सुरु

हेटौंडा- मकवानपुरको विकट राक्सिराङ गाउँपालिकामा रहेको अस्पतालमा स्वास्थ्य बीमाबाट उपचारसेवा सुरु गरिएको छ । चेपाङ र तामाङ समुदायको बाहुल्य रहेको यो गाउँपालिकामा पहिलोपटक स्वास्थ्य बीमासेवा सुरु गरिएको हो । राक्सिराङ–५, ठाडेचुरी स्थित राक्सिराङ आधारभूत अस्पतालमा स्वास्थ्य बीमासेवा सुरु भएसँगै स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएकाले सहुलियतमा स्वास्थ्य सेवा पाउने भएका छन् ।
स्वास्थ्य बीमा कार्यक्रमको शुभारम्भमा गाउँपालिका अध्यक्ष राजकुमार मल्लले स्वास्थ्य बीमामार्फत् सेवाग्राहीले प्राप्त गर्ने स्वास्थ्यसेवा अब राक्सिराङ आधारभूत अस्पतालबाट पाउने बताए । एनले आर्थिक अभाव भएकै कारण सामान्य स्वास्थ्यसेवा पाउनबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य हुने भन्दै विपन्न समुदायको स्वास्थ्य बीमा गराउन पालिकाले सहयोग गर्ने उल्लेख गरे ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमबहादुर बस्नेतले स्वास्थ्य बीमा कार्यक्रमको दिगोपनामा जोड दिए । कार्यक्रममा गाउँपालिकाको स्वास्थ्य शाखाप्रमुख विजय कापरीले गाउँपालिकाले चालु आर्थिक वर्षमा नौ सय परिवारको स्वास्थ्य बीमा गराउने लक्ष्य लिएको वडा नं. १, २ र ४ का गरी तीनवटा वडाका दुई सय परिवार पालिका मार्फत् बीमा कार्यक्रममा आबद्ध भएको जानकारी दिएका छन् । बीमा कार्यक्रममा आबद्ध हुने परिवारलाई पालिकाले ७५ प्रतिशत अनुदान र लाभग्राहीले २५ प्रतिशत योगदान गर्नुपर्ने बताउँदै उनले अनुदानसमेत उपलब्ध गराएको जानकारी दिए । बीमा कार्यक्रमबाट चेपाङलगायतका विपन्न समुदाय लाभान्वित हुने उनको भनाइ छ ।
प्रतिपरिवार तीन हजार पाँचसय रुपैयाँ तिरेर बीमा कार्यक्रममा आबद्ध भएपछि पाँच जनासम्मको परिवार भएकाले वार्षिक एक लाख रुपैयाँसम्मको स्वास्थ्यसेवा पाउने व्यवस्था रहेको छ । एक जना चिकित्सकको दरबन्दी रहेको यो अस्पतालमा बीमासेवा शुभारम्भसँगै एक्सरे मेसिन, खानेपानी परीक्षण लघु प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सेवा, अन्तर· तथा बहिर· सेवा, फार्मेसी लगायत सुविधा रहेका छन् ।